घोराही, २९ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको साउन ३१ गते हुने निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलका उम्मेदवारहरुले प्रचारप्रसार सँगसँगै व्यवसायीहरुका समस्या पनि सुनिरहेका छन् । उद्योगी–व्यवसायीहरुका पसल, उद्योग र फर्ममै पुगेर व्यवसायीहरुको समस्या बुझ्दै उम्मेदवारहरुले आफूहरुलाई जिताए व्यवसायीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रचारका क्रममा उद्योगी व्यवसायीहरुले संयुक्त प्यानलका उम्मेदवारहरुलाई विभिन्न प्रकारका समस्याहरु सुनाउने गरेका छन् । व्यवसायीहरुले अण्डरविलिङ, कर छली, व्यावसायिक सुरक्षा, फोहर व्यवस्थापनलगायतका समाधान गर्न आग्रह गरेका छन् । व्यवसायीहरुले व्यापारमा हरेक प्रकारका चुनौती थपिदै गएको भन्दै ती समस्याहरुको समाधानतर्फ पहल गर्न आग्रह गरेका छन् ।
भोट माग्दै हिडेका संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष पदका प्रत्यासी नारायण भुसालसहितको टोलीमा आशा र भरोसायोग्य उम्मेदवारहरु भएकाले भोट दिएर जिताउने पनि बताएका छन् । घोराहीको देउराली दोहरी साँझ नजिक सरस्वती राइस एण्ड जनरल ईण्डष्ट्रि प्रालि सञ्चालन गर्दै आएका अश्वरी पाठकले अण्डर विलिङ र व्यवसायिक हितका लागि काम गर्न आग्रह गर्दै व्यवसायीका पक्षमा काम गर्नेलाई आफ्नो सधैं साथ हुने बताए ।
घोराहीको मुख्य सडकमै रहेको सटरमा अनुप एग्रोभेट सेन्टर सञ्चालन गर्दै आएका दिलिप गुप्ताले संयुक्त व्यावसायिक प्यानललाई जिताउन आफ्नो सहयोग हुने बताए । व्यवसायीको हितमा काम गर्न सक्ने योग्य उम्मेदवारहरु भुसाल नेतृत्वको टोलीमा रहेको दावी गरे ।
संयुक्त व्यावसायिक प्यानलका अध्यक्ष नारायण भुसालले व्यवसायीहरुले उठाएका समस्याहरु समाधान गर्न नै आफूहरुको उम्मेदवारी भएको बताए । ‘हामीले १३ बुँदे प्रतिबद्धतामा धेरै विषयहरु उठाएका छौं, उनले भने, ‘ती बुँदाहरु देखाउनलाई हैन, काम गर्नलाई बनाएका हौं, अहिले व्यवसायीहरुले १३ बुँदेभित्रकै समस्याहरुलाई उजागर गर्नुभएको छ, हाम्रो पहिलो प्राथमिकता उद्योगी, व्यवसायीहरुले झेल्दै आएका समस्या समाधान गर्नु नै हुन्छ ।’
प्रचारका क्रममा संयुक्त प्यानलका उम्मेदवारहरुले व्यवसायीलाई भोट हाल्ने तरिका सिकाउँदै आफ्नो पक्षमा मतदान गरेर सहयोग गर्न आग्रह गरेका थिए ।