काठमाडौं, २९ साउन । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रबक्ता तोयम रायाले आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बिगत केही दिन यता देशमा परेको निरन्तरको बर्षाका कारण बिपत्तिमा पर्नेहरुमा सबैभन्दा धेरै महिला, बालबालिका, अपांग र जेष्ठनागरिकहरु परेको भन्दै तत्काल उद्धार गरी राहतको लागि सहयोगमा जुट्न सबैलाई अनुरोध गरेका छन् ।
नेपालमा रहेका सबै सामाजिक संघ संस्थाहरुलाई प्राकृतिक बिपत्तिका लागि बिशेष पहल गर्न तथा समाजकल्याण परिषदबाट समेत सबै संघसंस्थाहरुसँग समन्वय गरी आबश्यक राहत, उद्धार तथा पुर्नस्थापनाका कामको सहजीकरण गर्न निर्देशन दिइसकिएको बिज्ञप्तीमा उल्लेख छ।
‘प्राकृतिक प्रकोपले सबै क्षेत्र, समुदाय प्रभावित रहेको अवस्था रहे पनि प्रकोपको सबैभन्दा जोखिम र प्रभाव सहनुपरेका शारिरिक रुपमा अशक्तता भएका व्यक्ति, महिला, जेष्ठ नागरिक र वालवालिकालाई राहत तथा प्रकोपपश्चात देखापर्ने श्वास्थ्य लगायतका समस्या समाधानका लागि आबश्यक सहयोग गर्न सबैमा अनुरोध गर्न चहन्छौं।’–बिज्ञप्तीमा भनिएको छ।