दिपक बोहरा
तुलसीपुर । राप्ती अञ्चल अस्पताल तुलसीपुर परिषरमा निर्माण गरिएको रक्त सञ्चार केन्द्र सञ्चालनमा आउने भएको छ । समाजसेवी बामदेव शर्माले श्रीमती कालिकादेवीको सम्झनामा निर्माण गरेको रक्त सञ्चार केन्द्रबाट सेवा शुरु हुने भएको छ । अस्पतालको स्वामित्वमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा नेपाल रेडक्रस सोसाईटी दाङले सेवा शुरु गर्ने सहमती भएको छ ।
सोमबार अस्पताल बिकास समिति र नेपाल रेडक्रस सोसाईटी दाङबीच भदौ १९ गते देखी सेवा शुरु गर्ने सहमती भएको अस्पतालका नायब शुब्बा नबेन्द्र गिरीले बताए । उनले भने‘ भदौ १९ गते रक्त सञ्चार सेवा सञ्चालन गर्ने गरि सहमती गरिएको छ ।’
रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउनका लागि भवन संगै अस्पतालको स्वमित्वमा रहेको ३ सय २० बर्गमिटर जग्गा रेडक्रसलाई उपलब्ध गराउने सहमती भएको छ ।
भवन निर्माण भएको डेढ बर्ष बिते पनि रक्त सञ्चार केन्द्र सञ्चालनमा नआउदा चौतर्फी आलोचना हुने गरेको थियो । तुलसीपुर ५ निबासी बामदेव शर्माले श्रीमती कालिकादेवीको सम्झानामा करिब ६० लाखको लागतमा निर्माण गरेको रक्त सञ्चार भवन २०७२ फालगुण १४ गते अस्पताललाई हस्तान्तरण गरिएको थियो । तर अस्पताललाई हस्तान्तरण गरेको लामो समय पनि रक्त सञ्चार केन्द्र सञ्चालनमा आउन सकेको थिएन् । रक्त सञ्चार सेवा सञ्चालनमा नआउदा दानदाता बामदेव पनि असन्तुष्ट बनेका थिए ।
रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने बिषयमा अस्पताल बिकास समिति र रेडक्रसबीच बिवाद देखिएको थियो । उक्त बिवाद साम्य पारी तुलसीपुरमा रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउन सम्बाद समुह तुलसीपुरले करिब १५/१६ पटक छलफल गरेको थियो भने अन्य सरोकारवाला निकायले पनि नियमित छलफल तथा अन्तरक्रिया गरेका थिए ।
फलस्वरुप सोमबार अस्पताल बिकास समिति र रेडक्रसबीच उक्त भवनमा रक्त सञ्चार सेवा शुरु गर्ने सहमती भएको छ । अस्पताल बिकास संग भएको सहमती संगै भदौ १९ गते देखी रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउने रेडक्रस दाङका अध्यक्ष नारायण आचार्यले बताए । उनले भने‘ भदौ १९ गते देखी नै सेवा शुरु गर्ने गरी अस्पताल बिकास समिति संग सहमती भएको छ , त्यही अनुसार काम अघि बढाउछौं ।’
भवनको तत्कालिन सभामुख ओनसरी घर्र्तीले उद्घाटन गरेकी थिईन् । रक्त सञ्चार सेवा शुरु भएसंगै यहाँका बिरामीलाई रगतकै कारण रेफर गर्नुपर्ने बाध्यता हट्नेछ । अञ्चल अस्पतालमै जटिल प्रकृतिका सल्यक्रिया गर्न सकिने छ ।