चितवन, २३ साउन । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वोच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको बताउनुभएको छ ।
जेठ २१ गते सर्वोच्चमा मुद्दा परेकोमा साउन १५ गते सर्वोच्चले फैसला सुनाएको थियो । यो अवधिमा राज्य सत्ताको चरम दुरुपयोग भएको बताउनुहुँदै ज्ञवालीले भन्नुभयो “यो अवधिमा सत्ताको आडमा विकासका नाममा करोडौँं रुपैयाँ रकमान्तर गरियो र झुट्टा विकासे आश्वासन जनतालाई दिइयो ।” तत्काल पुनःनिर्वाचन भएको भए परिणाम भिन्न आउने उहाँले बताउनुभयो । आफूलाई हराउनकै लागि मुद्दाको फैसलामा ढिलाइ गरिएको उहाँको आरोप थियो ।
पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनःनिर्वाचनको समयमा सत्ताको आडमा नक्कली अनुमतिपत्र बनाएर सवारी साधन प्रयोग गरिएको बताउनुभयो ।
उहाँले एमाले भरतपुर महानगरमा १४७ पदमध्ये ७० पदमा विजयी भई पहिलो पार्टी भएको भन्दै नेकपा एमाले जनताप्रति प्रतिबद्ध र जिम्मेवार पार्टी भएकाले यसका प्रतिनिधि भरतपुर महानगरको विकासमा सक्रिय भएर लाग्ने बताउनुभयो । एमालेबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले आजै शपथ ग्रहण गर्ने पनि उहाँले जानकारी दिनुभयो । रासस