Indrenionline.com

सिक्टा सिंचाइमा परीक्षणका लागि पानी छाडियो

नेपालगञ्ज, २३ साउन। सिक्टा सिँचाइ आयोजनाले सुटुक्क नहरमा पानी छोडेको छ । गतवर्ष पानी छोड्दा मूल नहर नै भत्किएर संसद्मा समेत हङ्गामा भएपछि आयोजनाले यसपटक परीक्षणका लागि नहरमा ‘अतिकम’ पानी छोडेको हो । लामो समयसम्म पानी नपरेर धान रोप्न नपाएका किसानले चर्को दबाब दिएपछि सिक्टाले नहरमा पानी छोडेको थियो ।

गतवर्ष मूल नहर नै भत्किएर हच्किएको आयोजनाले परीक्षणका लागि छोडेको पानी किसानको खेतसम्म भने पुयाउन पाएन । आयोजनाका सूचना अधिकारी प्रकाशबहादुर कार्कीले किसानले चर्को दबाब दिएपछि नहरमा पानी छोडेको बताए । उनले अतिकम मात्रामा छोडिएको पानी डुडुवा नालामा खसाइएको जानकारी दिए ।

शुक्रवार जिल्लामा अत्यधिक पानी परेपछि आयोजनाले नहरमा पानी छोड्न बन्द गरेको छ । ‘किसानको खेतमा पानी पुर्‍याउन अलिअलि गर्दै अगाडि बढाएका थियौं, ठूलो पानी पर्‍यो, आजदेखि हामीले पानी पठाउन रोकेका छौं’, कार्कीले भने, ‘अब पानी नपरेको बेला सिक्टाले नहरको पानी किसानको खेतमा पुर्‍याउँछ ।’ एकैपटक धेरै पानी छोड्दा दुर्घटना बेहोरिसकेको आयोजनाले यसपालि नहर सफा गर्दै थोरै पानी छोडेको थियो ।

मूल नहरको ३५ किलोमिटर खण्डमा पर्ने सिंधनिया शाखा नहर तथा डुन्डुवा सिँचाइ प्रणालीअन्तर्गतको डुन्डुवा मूल नहरबाट खजुरा शाखा नहर, मानपुर शाखा नहर तथा पुरैना, पुरैनी उपशाखा नहरहरूमा पानी सञ्चालन गर्न थालेको आयोजनाले बताएको छ । आयोजनाले यी नहर खण्डमा आवश्यकताअनुसार पानी छोड्ने भएकाले आफू तथा आफ्ना बालबालिका एवम् पशु चौपायालाई भित्र पस्न नदिन सार्वजनिक अपील गरेको छ । ती नहरबाट जिल्लाको २ हजार १ सय हेक्टर जमीनमा सिँचाइ पुर्‍याउने आयोजनाले बताएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सम्पन्न भएमा जिल्लाका ४३ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्छ । आयोजना आर्थिक वर्ष २०७६र७७ मा सम्पन्न गर्ने लक्ष्य छ । आव २०६१र६२ मा नेपाल सरकारको आन्तरिक स्रोतबाट सिक्टाको निर्माण कार्य थालिएको थियो । आव २०७१र७२ मा संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत २५ दशमलव शून्य २ अर्ब रहेको छ । अहिलेसम्म सिक्टाको भौतिक प्रगति आधाभन्दा बढी रहेको छ ।

बाँके जिल्लामा ३६ हजार ५ सय हेक्टर जग्गामा धान रोपाइँ हुने गर्छ । यस वर्ष पूरै क्षेत्रफलमा रोपाइँ हुने सम्भावना कम छ । साउनको मध्य कटिसक्दा जिल्लाका धान खेती हुने कुल जमीनको आधामा पनि रोपाइँ भएको छैन । शुक्रवारमात्रै ठूलो वर्षा भएकाले किसान खेतबारीमा जुटेका छन् । यद्यपि, अहिलेसम्ममा बीउ बूढो भइसकेको छ । समयमा पानी नपर्ने र अन्तिममा बाढी आउने समस्या रहँदै आएको छ । खडेरी, अति वर्षाले गर्दा बाँके खाद्यान्न उत्पादनमा परनिर्भर हुँदै गएको छ ।
आकाश तारा वयाले /अभियान