काठमाडौं, २० साउन । पाँच वर्षिया विशाल काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कुलको गेटबाट हराएको तीन दिनपछि शनिबार विजय चौधरीको मोबाइलमा फोन आयो,‘तपाईँको छोरा हामीसँग सुरक्षित छ। तर, फिरौती हामीलाई ५० लाख रुपैयाँ दिनुपर्छ।’
छोरो फिर्ता ल्याउन ५० लाख रुपैयाँ फिरौती मागेपछि त झनै विजयका ओठमुख नै सुके। शनिबार ५० लाख रुपैयाँ फिरौतीका लागि फोन आउनु अघिसम्म विजयको परिवारलाई आशा थियो, कतै चिनेजानेका व्यक्तिसँगै छोरो आउँछ कि भन्ने। तर, फिरौतीका लागि फोन आएपछि भने विजयको त्यो आशा टुट्यो र छोरोलाई सकुशल फिर्ता पाइने हो कि होइन भन्ने चिन्ताले झन् बढी सतायो।
विजयलाई फिरौती रकम माग्न प्रयोग गरिएको फोन नम्बरलाई प्रहरीले त्यसपछि ‘ट्रयाक’ गर्यो। त्योसँगसँगै विजयका घरमा आउजाउ गर्ने नजिकका आफन्त र साथीहरुलाई पनि प्रहरीले निगरानीमा राखेको थियो। प्रहरीले विशालको अपहरणमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरिसकेको थियो, बालकको अपहरणमुक्त हुनुअघि नै।
बालक विशालको प्रहरीले सोमबार सकुशल भक्तपुरको काँडाघारीबाट गर्यो। सोमबार बिहानै विजयलाई फोन आयो। फोन प्रहरीको थियो र भनियो, विशालको सकुशल उद्धार गरियो। भक्तपुरको काँडाघारीको सडकमा रुदै गरेको अवस्थामा विशाललाई फेला पारेका छौं। त्यसपछि भने विजयको परिवारमा खुशीयाली छायो र छोरो लिन पुगे। प्रहरीले छोरा विशाललाई परिवारको जिम्मा लगायो। र, त्यो सँगसँगै प्रहरीले सोध्यो–राजु विश्वकर्मालाई चिन्नुहन्छरु विजयले जवाफ दिए–चिन्छु। ऊ त मेरो चार कक्षादेखि सँगै पढेको साथी हो। एकदिम मिल्ने साथी हो।
तर, जब प्रहरीले बालकको अपहरण राजुले नै गराएको रहस्य खोल्यो–त्यसपछि भने विजय झस्किए। केहीबेर उनलाई विश्वास नै लागेन, एकदमै मिल्ने साथी राजुले त्यसो गर्यो होला भनेर। प्रहरीले बालकको अपहरणबारे बताउँदै गएपछि भने विजयलाई विश्वास लाग्यो। अनि सोचे मन मिल्ने साथीले नै मुटुमा छुरा हानेको रहेछ। बुटवल घर भईँ हाल नयाँबजारमा बसेर असनमा भाँडा पसल थापेका विजय र रामेछापका राजुबीच मित्रता प्रगाढ नै थियो। एक अर्काको घरमा आउँ जाउँ पनि हुन्थ्यो समय समयमा।
निकै घनिष्ट मित्र राजुले नै छोरा विशालको अपहरण गएको भन्ने थाहा पाएपछि भने विजयलाई अझ बढी डर लाग्न थालेको छ। नजिकका मित्रले नै यसरी झेल गर्न सक्छन् भने अरुको के भररु उनलाई यस्तै लाग्न थालेको छ। छोरोलाई फेरि स्कुल पठाउन पनि उनको मनले मानिरहेको छैन। फेरि….. केही भइहाल्यो भने….यस्तै…..यस्तै कुरा खेलिराख्छ उनको मनमा।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले पाँच वर्षीय बालक विशालको अपहरणमा संलग्नहरुको खोजी भइरहेको बताए। ‘बालकको अपहरणमा संलग्न केहीको पहिचान भइसकेको छ। उनीहरुको खोजी गरिसकेका छौं,‘उनले भने,‘तर घटनाबारे अहिले नै सबै भन्न सक्ने स्थिति छैन।’ बालकको अपहरणपछि फिरौती माग्न प्रयोग गरिएको मोबाइल पनि राजुकै भएको प्रहरीले जनाएको छ।
फरार राजुलाई खोज्दै प्रहरी
विजयका एकदमै मिल्ने साथी हुन् राजु। छोरो विशाल स्कुलबाटै हरायो भनेर विजयले भनेपछि राजु तत्काल आएका थिए। छोरो हराएपछि प्रहरीमा उजुरी दर्ता गर्दा पनि राजु विजयसँगै प्रहरी कार्यालय पुगेकाले पनि उनीमाथि शंकाले हेरिएको थिएन, सुरुमा।
शुक्रबारसम्म विजयसँगै रहेका राजु शनिबारदेखि भने आएनन्। राजु नआएपछि विजयले फोन गर्दा पनि आउँछु भने तर आएनन्। प्रहरीले विद्यालयको फुटेजका आधारमा चिनेजानेकै व्यक्तिले बालकको अपहरण गरेको निष्कर्ष निकालेको थियो। त्यही निष्कर्षसँगै प्रहरीले विजयका घरमा आउँजाउँ गर्नेहरुमाथि निगरानी बढाएको थियो। त्यो निगरानीमा राजु छुटेनन्।
अझ, शुक्रबारदेखि विजयकोमा नफर्किएपछि प्रहरीले राजुमाथिको निगरानीलाई थप बढाएको थियो। बालकको उद्धार भइसकेपछि फोन अफ गरेर फरार रहेका राजुलाई प्रहरीले अहिले खोजी रहेको छ। काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले पनि बालक अपहरणमा संलग्नहरुको खोजी भइरहेको बताए। ‘प्रहरीले छिट्टै अपहरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्छ,’उनले भने।
फिरौती मागेपछि अनुसन्धान मोडियो
पाँच वर्षीय बालक विशाललाई बिहीबार बाबु स्कुल लिन आउन केही ढिला भएको थियो। कहिले बाबु त कहिले उनकी आमा स्कुलमा विशाललाई लिन आउँथे। बिहीबार भने विशाललाई लिन उनका बाबु विजय स्कुल पुगेका थिए। स्कुल पुगेर विशाललाई खोजे तर, भेटेनन्। छोरो नदेखेपछि विजयले स्कुलका स्टाफसँग सोधे–विशाल खोईँरु स्कुलका स्टाफले जवाफ दिए–विशाल त स्कुलबाट घर गइसक्यो। त्यसपछि विशाललाई निकै बेर बाहिर खोजे विजयले तर, भेटेनन्। विशाललाई नभेटेपछि उनले प्रहरीमा छोरो विशाल स्कुलबाट हराएको उजुरी दिए।
शुक्रबारसम्म पनि पत्ता नलागेपछि प्रहरीले अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली बालकको खोजीमा खटायो। स्कुलको भिडियो फुटेजमा बालक विशाललाई गेटबाहिरबाट एक जना व्यक्तिले मोटरसाइलकमा चढाएको देखिएपछि प्रहरी बालक अपहरणमा परेको निष्कर्षमा पुगेको थियो। त्यसपछि विशालका बाबु विजयलाई शनिबार अपरिचित नम्बरबाट फोन आयो। फोनमा एक व्यक्तिले विजयलाई भने–‘बालक हामीसँग सुरक्षित छ। ५० लाख रुपैयाँ फिरौती दिए सकुशल छोडिदिन्छौं।’
तर, विजयले त्यत्ति धेरै फिरौती रकम दिन नसक्ने बताएपछि अपहरणकारीले फोन काटेका थिए। प्रहरीले फिरौती रकम माग्न प्रयोग गरेको फोनका आधारमा अपहरणकारीको नजिक प्रहरी पुगिसकेको थियो। प्रहरीले पछ्याएको थाहा पाएपछि अपहरणकारीले बालकलाई सडकमै छोडेर भागेका थिए। सिसिटिभीको फुजेटका आधारमा प्रहरी बालकको अपहरण चिनेजानेकै मान्छेले गरेको निष्कर्षमा पुगेको थियो।
माधव धिताल/नेपाल खबर