Indrenionline.com

चैकीमा सुतेका सहायक प्रहरी निरीक्षकको मकैवारीमा हत्या

धादिङ, १४ साउन । उत्तरी धादिङको खनियाँवास गाउँपालिका स्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) वीरबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन्।

प्रहरी चौकी नजिकै गएराति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए। शवको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएकाले उनको हत्या भएको स्थानीयले अनुमान गरेका छन्। घटनास्थल प्रहरी चौकीबाट अन्दाजी १ सय मिटरको दूरीमा रहेको तामाङले जानकारी दिए।

बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ। प्रहरी चौकी नजिकै प्रहरीकै रहस्यमय हत्या भएपछि दार्खाबासी आतंकित बनेका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङबाट डीएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा घटनाको अनुसन्धानको लागि थप सुरक्षाकर्मी दार्खा परिचालन भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। घटनास्थलभन्दा केही पर निज गुरुङले लगाएको चप्पल, छाता र टर्चलाइट फेला परेको र उक्त ठाउँको मकैबारी माडिएको फेला परेको स्थानीयले बताएका छन्। अन्नपूर्ण पोष्टबाट