Indrenionline.com

महेन्द्रबहादुर शाहीले सक्लान त प्रभाकरको बिटो थाम्न ?

काठमाडाैँ, ११ साउन । माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका महेन्द्रबहादुर शाही २०७० सालको संविधानसभा चुनावमा कालिकोट क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।

कालीकोटमा माओवादीको संगठन मजबुत बनाएको जस लिन सफल शाही १० वर्षे सशस्त्र द्वन्द्वमा जनमुक्ति सेनाका डिभिजन कमाण्डर थिए। उनीसँग डिभिजन कमाण्डरको भूमिका निभाएका शुकबहादुर रोका उपराष्ट्रपति नन्दबहादुर पुनको स्वकीय सचिव छन्।

त्यस्तै प्रतीक ओली रुकुम जिल्ला इन्चार्ज छन्। डिभिजन कमाण्डरकै भूमिकामा रहेका कालीबहादुर खाम, धनबहादुर मास्की र सन्तु दराई भने अहिले त्यति चर्चाको भूमिकामा छैनन्।

जनमुक्ति सेनाका पूर्व डेपुटी कमाण्डर, डिभिजन कमाण्डर लगायतलाई शिविर व्यवस्थापनमा आर्थिक अनियमितता गरेको आरोप लागेको बेलामा समेत शाही त्यसमा विवादित बनेका थिएनन्।

हाल उनी माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य रहेका छन्। माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा शाही मन्त्री बन्ने चर्चा रहेपनि अन्तिममा उनी बाहिरै परेका थिए।

देउवा सरकारमा उर्जामन्त्रालयकाे बागडाेर सम्हाल्न लागेका शाहीले लाेडसेडिङ हुन नदिने बताए ।

उर्जामन्त्री बन्ने तयारीमा रहेका शाहीले भने पूर्वमन्त्री शर्माले गरेका राम्रा कामहरुलाई निरन्तरता दिने र विद्युत उत्पादन बढाउने केन्द्रीत हुने योजना बनाएको बताए । ‘शर्माले पावर म्यानेजमा निकै राम्रो काम गर्नुभयो र लोडसेडिङ अन्त्यको अभियान सुरु भयो’ उनले भने, ‘त्यसलाई निन्रन्तरता दिन्छु ।’

उनले अघि भने, ‘तर, म्यानेज गरेर मात्र पुग्दैन । माग बढ्दै जाने भएकाले उत्पादन पनि बढाउनुपर्छ । बाह्य लगानी भित्र्याउने र उत्पादन बढाउने मेरो योजना छ ।’

उज्यालो नेपालबाट