काठमाडौं, ११ साउन । कांग्रेसले पार्टीका गुटरउपगुटको व्यवस्थापन गर्न नसक्दा मंगलबार रोकिएको मन्त्रिपरिषद् विस्तार बुधबार० हुँदै छ । सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा टुंगिए पनि पार्टीकै तर्फबाट कांग्रेसले मन्त्री छान्न नसकेपछि मन्त्रिपरिषद् विस्तार सरेको हो । यद्यपि, यसपटक सरकारमा कांग्रेसबाट नयाँ अनुहार सहभागी हुने देखिएको छ ।
पार्टीको संस्थापन पक्षसँग ४० प्रतिशत भाग माग गरेको पौडेल समूहसँग सहमति जुटे पनि कुन(कुन मन्त्रालय दिने भन्ने विवाद सुल्झन नसकेको नेताहरू बताउँछन् । पौडेल समूहले बलबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित चार जनाको नाम पठाउन खोजेपछि केसीको नाममा समूहभित्रै विवाद भएको थियो । प्रधानमन्त्री देउवा पनि अनिच्छुक देखिनुका साथै भौतिक मन्त्रालय आफूनिकटलाई दिने अडान लिएपछि पौडेल समूहले केसीको नाम हटाएको थियो । सुरुमा पाँच मन्त्रालय दाबी गरे पनि देउवासँग पौडेलको भेटघाटपछि चारवटामा सहमति जुटेको थियो।