बैतडी, १० साउन । कुनैवेला देश परिवर्तनका लागि सशस्त्र युद्धमा होमिएका माओवादी लडाकु अहिले गिटी कुटेर छाक टार्दै छन् भन्दा पत्याउनै गाह्रो होला। तर, बैतडीकी भगवती सार्की सुशीलाको दैनिकी यसैगरी चलिरहेको छ।
तत्कालीन माओवादी सेनाको लोकेश स्मृति ब्रिगेड ७ औं डिभिजनमा कार्यरत भगवतीले घर फर्कने वेला एक पैसा पनि नपाएको दुखेसो गरिन्। उनले माओवादी नेताका मीठा भाषण सुनेर युद्धमा लागेको बताइन्। तर, अहिले युद्धपीडित बनेको गुनासो गरिन्। ‘समाज र देश बदल्न क्रान्तिमा हिँडियो, व्यवस्था फेरिएर गणतन्त्र आयो तर लडाकुलाई अयोग्य भनेर घर पठाए,’ भगवतीले भनिन्, ‘हाम्रो अवस्थाबारे पार्टी र राज्यले ध्यानै दिएनन्।’
नेता प्रधानमन्त्री/मन्त्री बने, लडाकुलाई अयोग्यताको ट्याग
व्यवस्था फेरिए पनि पूर्वलडाकु भगवतीका दुःख भने फेरिएका छैनन्। स्थानीय तहको निर्वाचनमा पनि पार्टीले भगवतीको मुल्यांकन गरेन। कुनैबेला ज्यानको बाजी थापेर सुरक्षा गरेका नेताले अहिले भेट्दा पनि नचिनेझैँ गर्ने गरेको उनले बताइन्। ‘ज्यानको बाजी थापेर हामीले नेताको सुरक्षा ग¥यौं,’ उनले भनिन्, ‘अहिले तिनै नेताले हामीलाई चिन्दैनन्, व्यवस्था फेरियो, तर हाम्रो दुःख फेरिएन।’
उनले पैसा अभावमा चार वर्षीया छोरीलाई स्कुल पठाउन पनि नसकेको बताइन्। छोरीलाई राम्रो शिक्षा दिने भगवतीको धोको छ। तर, छोरीका लागि स्कुल पोसाक किन्नेसम्म पैसा उनीसँग छैन। ब्यारेकबाट घर फर्कने बेलामा उनका सबै कागजपत्र कमान्डरले राखेको उनले बताइन्। ‘केही पाइने भए खबर गरौला भन्थे, तर अहिलेसम्म कुनै खबर आएन्।’ उनले भनिन्, ‘बैतडी फर्केपछि पार्टी कार्यालयमा गएर बुझ्दा कसैले मतलबै गरेनन्।’ उनले शान्ति प्रक्रियापछि नेताहरूले घरघरेडी जोडेको तर यहाँसम्म पुर्याउन भर्याङ बनेका लडाकुलाई बेवास्ता गरेको बताइन्। ‘यस्तो जीवन भोग्नु रैछ, सहिद भएको भए राम्रो हुन्थ्यो,’ उनले भनिन्।
बैतडीको सित्तड गाविसबाट पुरचौडीहाट हुँदै कैलालीको तालबन्द र बाँके, बर्दियासम्म पार्टीको काममा पुगेकी भगवती अहिले बाडीलेकको सानो घरमा कैदीजस्तै भएकी छिन्। ‘पढ्ने उमेरमा युद्धमा लागियो, के(के नै हुन्छ भन्ने सोचेकी थिएँ, आखिर यस्तो भोग्नुरहेछ,’ भगवतीले भनिन् ‘युद्ध लडेर सुरक्षा घेरामा बचाएका नेता देशको मन्त्री र प्रधानमन्त्री भए। तर, उनीहरूलाई बचाउने हामी अयोग्यको ‘ट्याग’ बोकेर घर फर्कियौँ।’उनले घर फर्किने वेलामा लडाकुलाई राज्य र पार्टीले राम्रो शब्दसम्म दिन नसकेको बताइन्। ‘हाम्रै बलमा सत्तामा पुगेकालाई कुनै वास्ता छैन्, अरूबाट के आशा गर्ने ?’ थाहाखबरबाट