काठमाडौँ, ८ साउन । नेपाली काँग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनको परिणाम र काँग्रेसको समग्र सांगठनिक शक्तिको परिचालनमा देखिएको कमीकमजोरीको समीक्षा गरेर आगामी चरणको निर्वाचनमा गर्नुपर्ने अख्तियारीको रणनीतिबारे छलफल भइरहेको केन्द्रीय सदस्य महेश आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“आज हामी एउटै विषयमा केन्द्रित छौँ निर्वाचन परिणामको बृहत् समीक्षा गरेर आगामी निर्वाचनमा पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छौँ, आज र भोलि छलफल गरी निष्कर्षमा पुग्छौँ”– उहाँले भन्नुभयो ।
स्थानीय निर्वाचनको समीक्षासँगै प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पनि काँग्रेसको स्थितिलाई सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, नेताहरुले सार्वजनिक रुपमा जनतासँग लैजाने एजेण्डा तथा राष्ट्रिय राजनीतिका महत्वपूर्ण एजेण्डामा काँग्रेसको कौशल नेतृत्व स्थापित गर्ने ढंगले जानुपर्छ भन्नेबारे छलफल चलिरहेको नेता आचार्यले बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षामा केन्द्रित रहेको र नेताहरुले बोल्नेक्रम जारी रहेको बताउनुभयो ।
“बैठकको मुख्य एजेण्डा नै निर्वाचनको समीक्षा हो, आगामी निर्वाचनमा पार्टीलाई कसरी प्रभावकारी ढंगले अघि बढाएर लैजान सकिन्छ, सम्पूर्ण संगठनलाई सक्रियरुपमा परिचालन गर्न पार्टीको कस्तो रणनीति लिने भन्नेबारे छलफल भइरहेको छ यस विषयमा सबै केन्द्रीय सदस्यहरुले बोल्ने सूची तय भएको छ”– उहाँले भन्नुभयो ।