नेपालगञ्ज, ६ साउन । असारको तेस्रो सातादेखि नेपालगञ्जमा पानी पर्न नसक्दा उखरमाउलो गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
पर्याप्त मनसुन नपरेका कारण बाँके जिल्लामा धान रोपाइँसमेत प्रभावित भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन ।
अत्यधिक गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन् । यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको छ । रासस