बुटवल, २ साउन । रुपन्देहीमा डेंगुको संक्रमण बढेको पाइएको छ। गत वर्ष सातजनालाई मात्रै देखा परेको डेंगुको संक्रमण यस वर्ष बढेर १६१ जनामा देखा परेको जिल्ला जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ।
संक्रमितको संख्या बढ्दै गएपछि टोलीले प्रभावित क्षेत्रमा लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने अभियानसँगै चेतनामूलक कार्यक्रम चलाउने भएकोे छ। जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मी, स्वयंसेविकासहितको टोली परिचालित गर्ने बताएको छ।
टोलीले साउन २ र ३ गते सिद्धार्थनगरका १३ वटै वडाका प्रत्येक घरघरमा लामखुट्टे र लार्भाका सम्भावित बासस्थानको खोजी र नष्ट गर्ने, लामखुट्टे संकलन र चेतनामूलक कार्यक्रम गर्ने र उक्त टोलीलाई सम्पूर्ण प्रकारको सहयोग गरी डेंगु नियन्त्रणमा सहयोग गर्न नगरवासीलाई अनुरोधसमेत गरेको छ।
लामखुट्टेको टोकाइबाट अति नै शीघ्ररुपमा फैलने भाइरसको संक्रमणबाट यो रोग फैलने गर्छ। यो रोग एक मानिसबाट अर्को मानिसमा एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।
डेंगुको संक्रमण भएका बिरामीमा उच्च ज्वरो, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाक लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, दिसा कालो हुनेजस्ता लक्षण देखिन्छ।