
–के.बि.मसाल
धेरै साहित्यकारहरुले भानु भक्तको बारेमा लेख्नु भएको छ होला ? भानु भक्तले लेखेका कविता कण्ठ पार्नु भएको होला ! तर तपाईहरु मध्य धेरैजना भानुको जन्मस्थल तनहूको चुंदी रम्घा पुग्नु भएको छैन होला ? यस पटक काठमाण्डौ गएको समयमा एक जना साहित्यकार मित्रलाई यो कुरा भन्न के लागेको थिए । उहाले तुरुन्त चुंदी रम्घा जान इच्छा ब्यक्त गर्नु भयो । मैले उहालाई हौसला दिदै भने यो बर्ष नेपाल पर्यटन बोर्डले घुमफिरको बर्षको रुपमा मनाउने घोषणा गरेको छ । फुर्सद भए जादा राम्रो हुन्छ । बरु तपाइृ संग म पनि जान तयार छु ।
डूभ्रेबाट हाभ्रो यात्रा मोडियो ड्रभ्रे–बेसिशहर जानेमार्ग तर्फ । तरेली परेको उकालो सडक दाया बायाँ हरियाली जंगल,शहरी करण हुनलागेको भंसार बजार हुदै हामी केहि समयमानै भंसारको प्रहरी चौकीमा पुग्यौ । चौकीबाट हामी बेसिशहर जाने सडक छाडी चुदी रम्घा तिर जाने सडक तिर मोडियौ । खरेल जी दंग पर्नु भएको छ । काठमाण्डौको उकुस मुकुस वातावरणमा बस्नु भएका खेरल जी यहाको वातावरणले उहालाई मनमुग्द बनाइ दिएको छ । तनहू जिल्ला साहित्यकारहरुको लागी पुग्नै पर्ने ठाउ हो । तनहूमा विभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन, क्षेत्री, दमाई, कामी, सार्की, पहाडिया मुसलमान, नेवारहरुको आ–आफ्नै मौलिक सस्कृतिहरु पनि पाइन्छ । उनीहरुबीचको भाइचारा र एकता झनै लोभलाग्दो छ । स्थानीयस्तरको जातीय भेषभूषा, चाडपर्व, रीतिरिवाजजस्ता सांस्कृतिक सदभावको संरक्षण गरी प्रतिष्ठित एवं लोपोन्मुख हुँदै जान लागेको लोकनाच, सोरठी, घाटु, कौरा, दोहोरी, वालुन, चुडका, भजन, लाखे, ठाडो भाकाजस्ता गीत–संगीतहरुलाई जीवित राख्ने काम त्यहाका समुदायहरुले गर्दै आएका छन । गुरुङ र मगर बस्ती रहेको स्थानमा रोदी बस्ने चलन अझैसम्म जीवित छ, गाउँघरमा । विशेषगरी, गुरुङ समुदायको सोरठी र घाटु नृत्य यस क्षेत्रमा चर्चित रहेको छ ।
जल सम्पदाको धनि तनहू जिल्लाको मध्य भागमा मादी र सेती नदी बगेको छ । भने लमजुङ जिल्ला संग सिमा वनेर वगेको सिस्ती र पाउदी खोलाले तनहूलाई सिचाई गर्नमा सहयो पु¥याएको छ । नदी किनारका टार, बेसी, र पहाडी बस्तीमा सजिएका ग्रामीण बस्ती तनहू जिल्लामा रहेको छ । पृथ्र्वी राजमार्गको मुग्लीङ देखि चोरकाटे सम्मको करिव ७२ कि.मि.को सडक तनहू जिल्लाको मध्यभाग भएर निर्माण भएको छ । त्यसै गरी डूभ्रे–वेसिशहर हुदै मनाङ पुग्ने सडकले पनि तनहू जिल्लालाई यातायातको सुविधा दिएको छ । यो वाहेक आजभोली तनहू जिल्लामा धेरै भूभागमा ग्रामीण सडक निर्माण भएका छन । सडक विकास सगै ग्रामीण क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरु पनि बढन थालेका छन । ग्रामीण क्षेत्रमा वजार विस्तार भएको छ । तनहूको छिम्केस्वरी, कोटाथाम, राईपुरकोट, मिरलुङगकोट र चोक चिसापानी जस्ता पहाडी रमणिय श्रृखंलाले त्यस क्षेत्रमा घुमफिर गर्नेहरुको लागी थप आकर्षकका केन्द्र बिन्दु बनेको छ ।
तनहू जिल्लाको भूगोल र सस्कृतिका कुरा गर्दा गर्दै हामी चुदी रम्घा पुगेको पत्तै भएन । पहाडी उपत्यका सुन्द बस्ती, मोटरमार्ग को दाया वायाँ बजार उन्मूख निर्माणको क्रम, बिचमा कलकल गर्दै बग्ने चुदी खोला सुन्दर गाउँहरुको बिच फराकिलो फाटँ, धानखेतीको हरियाली दृष्यावलोकन गर्दै हाम्रो यात्रा चुदी रम्घाको ग्रामीण बजारमा पुगेर रोकियो । भानु संग्रालय मा पुग्ने चुदीखोलाको पुल पार गर्ने बित्तीकै हाम्रो कुराकानी भानुको बारेमा सुरु भयो । भानु संग्रालय पुग्नु भन्दा अगाडी एक जना श्याम ढकाल नामका स्थानीय शिक्षक भेट हुनु भयो । यात्राको क्रममा हामीलाई भानुको बारेमा थपकुरा कानी गर्न सहयोग भयो । उहाले शिखर कटेरी डाडातर्फ औलाले देखाउदै भन्नु भयो –भानु भक्तको शिखर कटेरी जंगलबीचको खरको छानो भएको घरमा २०६१ जेठमा आगलागी भएको थियो । आगलागी पछि सो घरको अहिलेसम्म पुन निर्माण गरिएको छैन । त्यस यता भानुको घर खण्डहरमा परिणत भएको छ । २०५७ सालमा आदिकवि भानुभक्त नामक चलचित्र निर्माण गर्नका लागि भवन मर्मत गरिएको थियो । प्राचीन वास्तुशैली र ढाँचामा निर्माण गरिएको सो भवन हाल अवशेषको रुपमा मात्र देख्न सकिन्छ । शिखर कटेरीमा जन्मनु भएका भानुभक्तले नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ । लोकलयको मिठास भरेर रामायण लेख्नेदेखि नेपाली साहित्यको सुवास फैलाउने तथा बहुभाषा र संस्कृतिलाई जोडने सम्पर्क नेपाली भाषा भानुकै कारण समृद्ध भएको हो । भानुकै कारण नेपालीहरुमा भाषिक एकता कायम रहेको पनि मानिन्छ । भानुभक्त आचार्यको जन्मस्थल शिखरकटेरीको संरक्षण अभियानमा अहिले पश्चिमाञ्चल विकास मञ्च लागिपरेको छ ।
भानु सामुदायिक वनको हाताभित्र करिब १० रोपनी क्षेत्रफलमा फूल तथा फलफूलका बगैंचा, संग्रहालय, चौतारो, भ्यु टावर, ढुंगाले छापेर बनाइएका बाटो र करिब ४०÷५० जनालाई सजिलै राख्न सकिने होमस्टेको व्यवस्था हुन लागेको रहेछ । तनहुँको चुँदी रम्घामा धनञ्जय आचार्य र धर्मावतीदेवीका एक मात्र सन्तानका रुपमा भानुभक्त आचार्यको जन्म भएको थियो । आदि कवि भानुभक्त आचार्य, जन्म रम्घा ,शिखर कटेरीमा बि.सं.१८७१ भएको थियो । भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । यी पनि विद्वान थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा आफ्ना भानुभक्तको बाल्यकाल बाजेसँगै बितेको थियो । भानुभक्तका बाजेले बुढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे । अनि उनी काशी गएका बेला नातिलाई राम्रोसँग पढाइलेखाइमा समेत लगाउने हेतुले उनले भानुभक्तलाई पनि उतै लगेका थिए । त्यसैले बाजेसँगै काशी गई भानुभक्तले संस्कृत शिक्षा लिन पाएका थिए ।
भानुभक्तको बिहे एघार वर्षको उमेरमा भयो । तर पत्नीको असामयिक निधनपछि चौध वर्षको उमेरमा तनहुँका विद्याधर खनालकी छोरी दश वर्षीय चन्द्रकलादेवीसँग उनको दोस्रो बिहे भयो । बालकृष्ण समका अनुसार भानुभक्तकी पत्नीलाई रेवती भनेर बोलाइन्थ्यो । यी दम्पतीबाट दुई भाइ छोरा रमानाथ र शिवशङ्कर जन्मे । शिवशङ्करको १४ वर्षको उमेरमा नै निधन हुँदा भानुभक्तले जीवनभरि पुत्रशोकको कठोर वज्रपात सहनु प¥यो । भानुभक्त आचार्यकै सृजनात्मक जगमा टेकेर नेपाली साहित्यको लहरो आकाशजस्तै फैलँदै आएको छ । भानुभक्तकै फेरोमा बाँधिएर आज नेपाली भाषाले आफ्नो घेरोलाई क्रमशः शक्तिशाली बनाउँदै आएको छ । त्यतिमात्र होइनस यस भूगोलमा नेपाली नेपाली एकअर्कामा जति मिल्न सकेका छन त्यसका निम्ति भानुभक्तको विशेष सृजनात्मक योगदान रहेको छ । भानु संग्रालयमा भानुभक्तले प्रयोग गर्ने खराउ, अम्खोरा, मधुस, खाट लगायत सामग्रीहरु हाल भानु जन्मस्थल विकास समितिका कार्यालयमा राखिएको रहेछ ।
भानुभक्तको गाउँमा खाना खाएपछि हाम्रो यात्रा सुरु भयो मिर्लुङ तर्फ । तनहुँ जिल्लाकै दोस्रो अग्लो पहाडी चुचुरो मिर्लुङमा पर्दछ । जुन पहाडलाई मिर्लुङकोट भन्ने गरिन्छ । सामुद्रिक सतहबाट १६५४ मिटर उचाईमा रहेको मिर्लुङकोटमा पुरानो धर्मादत्त सेन राजाले राज्यसमेत चलाएका थिए । उनको दरबारको भग्नावशेष अझै पनि देख्न सकिन्छ । मिर्लुङकोट क्षेत्र प्राकृतिक, सांस्कृतिक, धार्मिक, साहित्यिक र जैविक विविधतामा धनी रहेछ । सुन्दर प्राकृतिक भूबनोटभित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तरी भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ । विभिन्न जातजाति, धर्म, समुदाय र सम्प्रदायको अलग–अलग भेषभूषा, रहनसहन मिर्लुङमा देख्न पाइन्छ । मिर्लुङ पर्यटन विकास समितिले ग्रामीण पर्यटकहरुलाई लक्षीतगरी सूचना केन्द्र स्थापना गरेको रहेछ । मिर्लुङकोट पर्यटन पैदलमार्ग तनहुँ–लमजुङ–कास्की पर्यटन रुट कायम गरिएको रहेछ । तनहुँ जिल्लाको नारेश्वटार, सेपाबगैँचा, टुहुरे पसल, चन्द्रावती हुँदै करस्याङदी खोला तरेपछि मिर्लुङ शुरु हुन्छ ।
तनहुँ जिल्लाको भानुको जन्मस्थल भानु, बरभञ्ज्याङ, तनहुँसुर, बसन्तपुर, पुर्कोट, चोकचिसापानी, मिर्लुङ, रुपाकोट, रिस्ती, सतिस्वारा र क्यामिन, लमजुङ जिल्लाका जिता, तान्द्राङ, टक्सार, सूर्यपाल, रम्घा, समीभञ्ज्याङ, भोर्लेटार, र इशानेश्वर हुदै कास्कीको हंसपुर, रुपाकोट, देउराली, सिद्धे, माझठाना पोखरा लेखनाथ नगरपालिका क्षेत्रलाई मिर्लुङकोट पर्यटन विकासले जोडेको रहेछ । आजभोली ग्रामीण पर्यटकहरु घुमफिरको लागी मिर्लुङ पुग्ने रहेछन । मिर्लुङकोटमा अवस्थित राजा धर्मादत्त सेनको दरबार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशबाट परेको पानीबाट बनेको यो पोखरीमा पानी कहिल्यै पनि सुक्ने रहेनछ । मिर्लुङको ठूलढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ ।
मिर्लुङकोट पर्यटन पदमार्गमा बसन्तपुरको चर्चित थानीमाई मन्दिरसमेत पर्ने रहेछ । कार्तिक महिनाको पहिलो सोमबारदेखि पुस र वैशाख, जेठ, असार, साउन, भाद्र, असोज बाहेकका बाँकी महिनाका प्रत्येक सोमबार थानीमाईको भाकल गरी मंगलबार फूलको डोली लैजाने परम्परा रहेछ । मिर्लुङको पश्चिमतर्फ शिखर कटेरी भयरको मन्दिर अनि त्यसको ठीक उत्तरतर्फ नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरुको पार्क रहेछ । यो पार्क रिस्तीमा पर्ने रहेको छ ।
सतिस्वारामा पर्ने ऐतिहासिक दर्गा जामे मस्जिद जुन विक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन, यो पनि आकर्षणको केन्द्र मानिने रहेछ । यस्तै, चोकचिसापानीमा पर्ने चोककोट थामाचुली गढीमा यही स्थानबाट सूर्योदयसमेत हेर्न सकिने रहेछ । लमजुङको जितामा पर्ने धार्मिक एवं ऐतिहासिक स्थल सप्तधारा, पञ्चमन्दिर, छानापाखा, इजार गाउँ, जिताकोट, भयरथान, तान्द्राङ टक्सारमा रहेको जल्पादेवी मन्दिर, तामाखानी गाउँ, तान्द्राङकोट नागभैरव मन्दिर यो रुटका प्रमुख आकर्षण मानिने रहेछ । यस क्षेत्रबाट धवलागिरि, गणेश हिमाल, महाभारतका चुरे श्रृंखलाहरु, तिब्बत र नेपालको सिमाना छुटयाउने ग्रेड हिमाल सजिलैसँग देख्न सकिने रहेछ ।
यस क्षेत्रमा थुप्रै खोला, खोल्सी, भन्ज्याङहरु पर्दछन । जारकाटे भन्ज्याङ, अर्चले भन्ज्याङ, मूलाबारी भन्ज्याङ, लौडारी भन्ज्याङ, शक्ति भन्ज्याङ, राईपाली भन्ज्याङ, बायापानी भन्ज्याङ, कुन्छा भन्ज्याङ लगायतका थुपै भन्ज्याङहरु यहाँ पर्दछन । छोटो समय भएपनि साथीलाई तनहूको केहि रमणिय ग्रामीण बस्तीको अवलोकन गराउन पाउदा खुशिपनि लाग्यो । फुर्सद मिलाएर तपाईहरु पनि घुमफिर गर्न चुदी रम्घा जान सके राम्रो हुने छ ।