ठमाडौँ, २८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज बुधवार उद्योग व्यवसायीको प्रतिनिधि मण्डलसँग भेटवार्तामा उनले विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिएका हुन्।
नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सको छुट्टाछुट्टै प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री महरालाई भेटेको थियो । भेटमा मन्त्री महराले मुलुकलाई राजनीतिक बहसबाट आर्थिक बहसतर्फ केन्द्रित गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले मुलुकमा लगानीको वातावरण बनाउन सकिएमा द्रूतगतिमा आर्थिक विकास गर्न सकिने भएकाले त्यसका लागि आफूले पहल गर्ने बताएका छन् । भेटका अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले द्विपक्षीय सम्बन्धको आधारमा नेपालले आर्थिक कुटनीति अवलम्बन गरेर आर्थिक विकास र व्यापार सहजीकरणको भूमिका निर्वाह गर्न र लगानी तथा व्यापार प्रवद्र्धनका लागि दूरगामी आर्थिक नीति बनाउनका लागि पहल गर्न अनुरोध गरेका थिए । रासस