असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कुशवाहा लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा (एमाले) का जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् ।
नयाँ शक्तिबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता पनि पूर्वसभासदसँगै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी राजपाका प्रह्लाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेल लगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताउनुभयो । त्यसैगरी एमाले जिल्ला समिति सदस्य जयसवालले एमालेमा फरक मत, विचार, आस्था र भावनाको सम्मान हुने परिस्थिति नरहेकाले आफू माओवादी केन्द्रमा आएको बताउनु भयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवआगन्तुक नेता–कार्यकर्तालाई खादा र माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।