काठमाडौँ, २४ असार । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो । पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १४८, नेपाली काँग्रेस १२१, नेकपा ९माओवादी केन्द्र० ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा विजयी हुनुभएको छ । त्यस्तै तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख÷अध्यक्ष पदमा विजयी हुनुभएको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा नेकपा एमालेले सबै भन्दा धेरै अर्थात ४४।८ प्रतिशतमा पदमा विजयी हासिल गरेको छ भने नेपाली काँग्रेसले ३६।७ र माओवादी केन्द्रले ११।५ प्रतिशत पद जितेका छन् ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र ९जेइओसी० का अनुसार प्रदेश नम्बर– १ का १३४, प्रदेश नम्बर ५ का १०९ र प्रदेश नम्बर ७ को ८७ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७२, नेपाली काँग्रेस १०३, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल ७, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा २, राप्रपाका दुईजना उम्मेदवार विजयी हुनुभएकोे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।
दोस्रोचरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।