काठमाडौं, २१ असार । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भएको सडक विभागले जनाएको छ ।
भदौको पहिलो सातासम्म राति सवारीसाधन सञ्चालनमा रोक लगाउने विभागको योजना छ । हाल सडक निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गरिँदै आएको छ । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न गर्ने गरिएको छ । त्यसअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सडक बन्द गरिन्थ्यो ।
६ जनाको मृत्यु, ४० घन्टा सडकमै बास
सो सडकखण्डमा पहिरोका कारण यो वर्षको तीन महिनामा ६ जनाको ज्यान गइसकेको छ । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यो सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यात्रुले ४० घन्टासम्म सडकमै बिताउनुपर्ने बाध्यता पनि छ ।
मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले नियमितजसो पहिरो गइरहेको छ । यसकारण दैनिक रूपमा आवतजावत गर्ने करीब १४ हजार सवारीसाधन प्रभावित हुने गरेका छन् ।
राती सडक बन्द गर्न विकास समितिको निर्देशन
संसद्को विकास समितिले मुग्लिन–नारायणगढ सडक डेढ महिनासम्म राति बन्द गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले राति बैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न वा तत्काल बैकल्पिक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो । नयाँ पत्रिकाबाट