काठमाडौँ, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले धान दिवसका अवसरमा नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।
आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रवद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैत धान र बर्खे धान प्रवद्र्धनका प्रयाससमेत भइरहेको सन्देशमा उल्लेख छ ।
नेपालमा धानको आर्थिक, सामाजिक एवम् सांस्कृतिक महत्व रहिआएको तथा हरेक सामाजिक एवम् सांस्कतिक कार्यमा धानकै प्रधान्यता रहेको प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान २९ दशमलव ४ प्रतिशत रहेको छ । हरेक वर्ष असार १५ गते धान दिवस मनाइन्छ । रासस