काठमाडौं, ८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनमा लैजान पहल शुरु गरेका छनु । उनले बुधवार मात्रै नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री महराले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवहन तथा यातायात, बेल्ट एण्ड रोड इनिसियटिभस्, क्रस बोर्डर इकोनोमिक जोन जस्ता सम्झौता दुई पक्षबीच छलफल गरेर कार्यान्वयन गर्दै जाने प्रतिबद्ध जनाएका थिए।
मन्त्री महराले चिनियाँ प्रतिनिधिमण्डल समक्ष चिनियाँ उद्योगी व्यवसायीको प्रतिबद्धताअनुसार ८ दशमलव ३ अर्ब अमेरिकी डलर बराबरको लगानी चाँडै आउने विश्वास व्यक्त गरे। महराले स्वतन्त्र व्यापार सम्झौता एफटिए सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि गर्न र निर्यात वृद्धि गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गरे। नेपाललाई चीनले ५१२ वटा वस्तुमा दिएको शून्य भन्सार महसुलका कारण पनि व्यापारमा नेपालले फाइदा लिन सकेको महराको भनाइ थियो।