दाङ, ४ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह राजनीतिक अधिकार र आर्थिक अधिकारसम्पन्न भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र घोराहीको गुलरिया पार्कमा गरेको बिशाल जनसभालाई सम्वोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
अब स्थानीय तह निकै शक्तिशाली हुने उल्लेख गर्दै भन्नुभयो– ‘म अर्थमन्त्री भएको बेला स्थानीय तहलाई बजेटको ठूलो हिस्सा अनुदानको रुपमा पठाउने ब्यवस्था गरेको छु, अब स्रोत र शक्ति दुबैले स्थानीय तह अधिकार सम्पन्न भएका छन् ।’
सिंहदरवारको शक्ति जनताको हातमा आउनु सानो परिवर्तन नभएको उल्लेख गर्दै माओवादी नेतासमेत रहेका महराले आफ्नो एजेण्डाको कार्यान्वायन माओवादीले नै गर्ने भएकाले स्थानीय तह निर्वाचन माओवादीले जित्नुपर्ने बताउनुभयो । पहिलो चरणको निर्वाचनमा प्राविधिकरुपमा माओवादीले थोरै स्थानमा जिते पनि राजनीतिकरुपमा जीत हात पारेको बताउनुभयो । ‘पहिलो कुरा त आफ्नो एजेण्डा माओवादीले आफ्नै कार्यकालमा लागु गरेको छ’– उहाँले भन्नुभयो– ‘प्राविधिकरुपमा हेर्दा पनि हामी ४६ ठाउँमा पहिलो र ५२ ठाउँमा दोस्रो भएका छौं, स्थानका हिसाबले कम जिते पनि हामीले मतसंख्याका हिसाबले अन्य दलकै हाराहारीमा जितेका छौं ।’ उहाँले दाङका धेरै स्थानीय तहमा माओवादी जित्ने दावी पनि गर्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख पदका उम्मेदवार जीवन गौतम, उपप्रमुखका उम्मेदवार सिता चौधरीलगायत बोल्नुभएको थियो । सभामा रक्तबीज सांस्कृतिक परिवार दाङले सांस्कृतिक कार्यक्रम देखाएको थियो भने मानबहादुर बस्नेतको नेतृत्वमा ६१ जना कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । उपमहानर उपाध्यक्ष विश्वराज आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन अध्यक्ष विश्वराज आचार्यले गर्नुभएको थियो ।
चुनाव परिचालन समिति संयोजक लुमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य दामा शर्मा, नरेन्द्रमान केसी, अध्यक्षका उम्मेदवार श्यामेश चौधरी, उपाध्यक्षका उम्मेदवार भगवता अधिकारीलायतले बोल्नुभएको थियो । गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन नारायण शर्माले गर्नुभएको थियो ।
यसैबीच पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले अब स्थानीय सरकार महिला, दलित लगायत राज्यका मूलधारबाट वञ्चित गरिएका उपेक्षित वर्गले सञ्चालन गर्ने बताउनुभयो । स्थानीय तहबाटै समावेशी अभ्यास शुरु भएको भन्दै यसलाई लक्षित वर्गको हितमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । बबइ गाउँपालिकाले हंशपुरमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा पोलिटब्यूरो सदस्य कुवेर ओली, निर्वाचन परिचालन संयोकज भीमबहादुर ओली, अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्र, उपाध्यक्षका उम्मेदवार उर्मिला ओलीलगायतले बोल्नुभएको थियो । पूर्वमन्त्री शर्माले शान्तिनगर गाउँपालिकाको चिराघाटमा आयोजित जनसभालाई पनि सम्वोधन गर्नुभएको थियो । सो सभामा अध्यक्षका उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्षका उम्मेदवार राधिका परियारले पनि सम्वोधन गर्नुभएको थियो । त्यस्तै पूर्वमन्त्री शर्मा र नेता ओलीले दंगीशरण गाउँपालिकाको हेकुलीमा आयोजित चुनावीसभालाई पनि सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै माओवादी केन्द्र गढवाले गरेको चुनावीसभालाई पोलिटब्यूरो सदस्यद्वय निर्मल आचार्य र नारायण शर्मा, अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने ‘सागर’, उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरीलगायतले बोल्नुभएको थियो । राजपुर गाउँपालिकाले गंगदीमा गरेको चुनावीसभालाई पनि पोलिटब्यूरो सदस्य निर्मल आचार्य, लीला शर्मा, अध्यक्षका उम्मेदवार श्यामबहादुर झाँक्री र उपाध्यक्षका उम्मेदवार पुष्पा यादवले सम्वोधन गर्नुभएको थियो ।
माओवादी केन्द्र लमहीले आइतवार वृहत चुनावी ¥याली गरेको छ । ¥यालीपछि आयोजित सभालाई पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरी, अध्यक्षका उम्मेदवार द्रौपदा पौडेल र उपाध्यक्षका उम्मेदार कालुराम चौधरीले सम्वोधन गर्नुभएको थिया । बंगलाचुलीमा पनि माओवादीले सभा गरेको छ । सभालाई केन्द्रीय सदस्य सुवास पुन, अध्यक्षका उम्मेदवार भक्तबहादुर ओली र उपाध्यक्षका उम्मेदवार यमुना घर्ती मगरले सम्वोधन गर्नुभएको थियो ।