कास्की। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले सबैभन्दा खुसी दुर्गे कामीलाई बनाएको छ । हुन् । ७० वर्षको वृद्ध उमेरमा एसईई परीक्षामा सामेल भएका स्याङ्जा फेदीखोलाका दुर्गे कामीलाई पनि उच्च शिक्षाको बाटो खुलेको छ ।नतिजामा १ दशमलव २ जीपीए ल्याएका उनले क्याम्पस पढेर शिक्षक बनी शिक्षाको महŒवबारे सिकाउने लक्ष्य राखेका छन् ।
१६ वर्षअघि जीवनसंगीनी रूपालाई गुमाएका उनका चार भाइ छोरा, तीन बहिनी छोरी, नौ नातिनातिना छन् । यद्यपि उनी एक्लै बस्ने र खाना आफंै पकाउने गर्छन् । निम्न आय भएका उनी अर्काको काम गरेर दैनिक खर्च चलाउँछन् । विद्यालय समयमा लाठी टेक्दै नियमित स्कुल हाजिर हुने गरेका उनले बिदाको दिन अरूको मेलापात भर्ने गरेका थिए ।
विद्यालय पोसाकमा चिरिच्याट्ट बनी जाने उनको पढाइप्रतिको मोहले अन्यलाई पनि थप प्रेरणा दिने गरेको थियो । प्रारम्भिक शिक्षा स्थानीय खहरे प्राविबाट पूरा गरेका उनी कालाभैरव माविमा कक्षा ६ देखि भर्ना भएका हुन् ।
कक्षा कोठामा नाति नातिनीका जस्तै उमेर भएका सँगै बसी उनले गुरुले सिकाएको विषय ध्यान दिएर सुन्ने गर्थे । दैनिक गुजारामा धौधौ भएकाले उनलाई आर्थिक अभाव टड्कारो बनेर आएको छ । उच्च शिक्षाका लागि कसैको सहयोग पाएमा राम्रो क्याम्पसमा भर्ना भई पढाइ रहर पूरा गर्ने उनको धोको छ ।