काठमाडौंँ, ४ असार। स्थानीय तहको दोस्रो चरणको चुनावमा निर्वाचन आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको जानकारीसमेत दिएको छ ।
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चारहजार ५८१ मतदान स्थल र त्यसका लागि आठ हजार ३६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । गोरखापत्रमा खबर छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक मात्रै ६६ हजार ९०० कर्मचारी खटिन लागेको प्रमुख निर्वाचन आयुक्त डा। यादवले बताए।
दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । महिला, दलित, अल्पसङ्ख्यकलगायत उम्मेदवारका लागि मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले जानकारी दिएको छ ।