Indrenionline.com

कैलाली घटनाका मुख्य आरोपीलाई सरकारको एक करोड ७४ लाख क्षतिपूर्ति

काठमाडौं, ३ असार । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनाको आरोपितलाई सरकारले ‘क्षतिपूर्ति’ रकम बाँडेको छ । नागरिक दैनिकमा खबर छ । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलार्य सरकारले पीडित भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।

सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरीले ५० लाख १२ हजार आठ सय मात्र पाएका छन् । मन्त्रिपरिषदले विशेष निर्णय गरर रेशमलाई राहत दिएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

यसैगरी हार्डवेयर पसल तोडफोड भएका प्रदीप चौधरीले एक करोड ३९ लाख, फर्रिचर पसल तोडफोड भएका शिवनारायण चौधरीले एक करोड ५० लाख पाएका छन् ।

रेशमको राहत बुझ्न उनका बुबा लालवीर चौधरी पुगेका थिए । नजिकको हकवालाका नाताले लालवीर चौधरीकै नाममा एकउन्ट पेयी चेक उपलब्ध गराइएको प्रजिअ रिजालले बताए । चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो ।

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सूचीमा छन् । उनीविरुद्ध एसएसपीलगायत ९ जनाको हत्या अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।