काठमाडौं, ३ असार । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् ।
चुनावक्रममा मधेसवादी दलबीच अलगाववादी नेता राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा नै रहेको सम्बद्ध स्रोतले बताएको छ । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले अन्नपूर्णसँग भन्नुभयो, ुहामीले राजपासँग तपाईंहरू मधेसको मुद्दामा क्लियर भएर आउनुहोस्, हामी एक भएर अघि बढौं भन्ने प्रस्ताव गरेका छौं । उहाँहरू सत्तास्वार्थका कारण क्लियर हुनुहुन्न ।
एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राजपा जन्मनुभन्दा अघि राजपासम्बद्ध ६ मधेसवादी दललाई समेत पद र पैसा त्यागी स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको जानकारी दिनुभयो । महतोले भन्नुभयो, ुमधेसवादी दलले सत्ता र पैसाको मोहमा हामीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् । उनीहरू राज्य लिएर देश लिने भन्छन्, हामी राज्य होइन, देश नै लिनुपर्छ भन्छौं ।