पाण्डव शर्मा
दाङ, २ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनले केन्दैको सत्ता गाउँमा फर्किएको बताएका छन् ।
माओवादी केन्द्रले घोराही वडा नम्मर १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमा बोल्दै उनले यो निर्वाचन विगतमा जस्तो जनप्रतिनिधि छान्ने मात्र नभएको बताए ।
स्थानीय तहको निर्वाचनमा केही शक्तिहरु पैशाको बलमा निर्वाचन जित्ने प्रयत्तन्न गरिरहेको उल्लेख गर्दे महराले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्ने आवश्यकता औंल्याए । ‘पैशाको बलमा चुनाव जित्ने पञ्चायकालिन शैली अपनाउने काम भएको छ, अहिले जनता निकै सचेत भइसकेका छन्, पैशामा कोहि विक्नेवाला छैन,’ उनले भने । दाङको विकास र समृद्धिका लागि आँफूले केन्द्रमा रहेर निरन्तर पहल गरिरहेको उल्लेख गर्दै महराले दाङका एमाले तथा कांग्रेसका नेताहरुले पनि आँफूलाई बजेटका लागि आग्रह गर्ने गरेको जानकारी दिए ।
स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुशीको कुरा भएको उल्लेख गर्दै महराले एजेण्डाको आधारमा माओवादीले विजयी हासिल गरिसकेको बताए । प्राविधिकरुपमा जुन पार्टीको उम्मेदवार विजयी भए पनि माओवादीको एजेण्डा सफल भएको उनको भनाई छ । मधेशवादी दलहरुलाई पनि सहमतिमा लिएर मुलुकलाई निकास दिनको लागि दुई नम्मवर प्रदेशको निर्वाचन सारिएको महराले बताए ।
‘निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले यसलाई त्यति ठूलो बनाउनुहुँदैन,’ उनले भने, ‘सारिएको मिति भित्र प्रमुख प्रतिपक्षि दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिने छ ।’
परराष्ट्रमन्त्री समेत रहनुभएका उपप्रम महराले नेपालले छिमेकी मुलुकहरुबीच सन्तुलित परराष्ट्र नीति अवलम्वन गर्ने जानकारी दिए । छिमेकका दुई ठूला मुलुक चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनको भनाई थियो । आँफू अर्थमन्त्री हुँदा दाङका ठूला योजना सम्पन्न गर्न उल्लेख्य बजेट विनियोजन भएको जानकारी दिदै महराले त्यसको सदूपयोगका लागि यहाँका जनताले खवरदारी गर्नुपर्ने आवश्यकता औंल्याए । उनले यस क्षेत्रको विकासका लागि आँफूले निरन्तर पहल गर्ने जानकारी दिए ।