Indrenionline.com

महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्नुस्, ‘प्रचण्ड’

असार १, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाहरुको सहभागिता भए पनि अर्थपूर्ण सहभागिता नभएको बताउँदै महिला नेतृहरुलाई अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न आग्रह गर्नुभएको छ ।

बिहीबार बिहान लाजिम्पाटमा अन्तरपार्टी महिला सञ्जालका नेताहरुले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रचण्डले भन्नुभयो, ‘महिलाहरुलाई नेतृत्वमा ल्याउन ठूलै संघर्ष गरियो, महिलाहरुको सहभागिता बढेको छ, स्थानीय तहको निर्वाचनमा पनि ठूलै संख्यामा महिलाहरु निर्वाचित हुनुभएको छ, यो राम्रो पक्ष हो । अब हामीलाई संख्याले मात्र पुग्दैन, गुण बृद्धि गर्नेतिर सोच्नुपर्छ । निर्वाचित महिलाहरु आफ्नै योजना र विचारमा चल्न सक्ने गरी, समाजको नेतृत्वमा सफल हुने गरी हामीले समक्ष बनाउनुपर्छ । खाली सहभागिताका लागि सहभागिताले अब अर्थ राख्दैन । तपाईहरुले महिला नेताहरुको स्तर वृद्धि गर्नेतिर लाग्नुस्, हामी राजनीतिक पार्टी र नेताहरुले पनि त्यसबारे सोच्छौं । यसरी मात्रै महिलाहरुको संख्या र गुण दुवैमा वृद्धि गर्न सकिन्छ ।’

ज्ञापन पत्र बुझाउँदै सञ्जालले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर हरेक गाउँपालिका र नगरपालिका प्रमूख र वडा अध्यक्षमा पचास प्रतिशत महिला उम्मेदवार उठाउनैपर्ने व्यवस्था गर्न र दलितहरुको बस्ती नभएका स्थानमा अन्य समुदायका महिलाहरु उम्मेदवार हुने व्यवस्था गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

भेटमा महिला नेतृहरुले संविधानको मर्म र भावाअनुरुप मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गर्न पनि अध्यक्षलाई आग्रह गर्नुभएको थियो । भेटमा राजनीतिक दलसँग आवद्ध महिला संगठनहरुका नेतृहरु सहभागि हुनुहुन्थ्यो ।