अछाम, २७ जेठ । अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ ।
गाउँमा बाटो पनि कांग्रेस र एमालेका छुट्टाछुट्टै छन् । बजारबाट घर फर्किंदा एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरू मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरू सहभागी हुँदैनन् । ‘निर्वाचनकै कारण घरको चुलोमा पनि राजनीति पस्यो,’ मंगलसैन–३ का मोति कामीले भने, ‘बुढाबुढीकै बोलचाल छैन, गाउँले र दाजुभाइ त परको कुरा भयो ।’ नेताभन्दा कार्यकर्तामा झन् अनौठो खाले तुच्छ राजनीतिक प्रतिस्पर्धा भइरहेको उनले बताए ।
आजको राजधानीमा यो खबर छ । १४ असारमा हुने स्थानीय तहको निर्वाचन सरगरमी बढेयता झिनामसिना विषयले पनि गाउँलेबीच ठूलै विवाद निम्त्याएको देखिन्छ । बाख्रा बारीमा पस्दा र कुखुराले सुकाएको बिस्कुन खादा पनि फरक पार्टी परे ठूलै विवाद हुने गरेको चौरपाटी–७ का सामाजिक अगुवा खड्गबहादुर खड्काले बताए । ‘निहुँ पाउनुहुन्न ठूलै झगडा हुन्छ,’ उनले भने, ‘वैचारिक भिन्नताले समस्या पारे पनि ०४६ सालतिर जस्तो भने अहिले छैन ।’ घरघरमा फहराएका झन्डा, पोस्टर र पम्पलेटले गाउँ जति झिलीमिली देखिए पनि गाउँलेबीचको तिक्तताले नयाँ आगन्तुकलाई नरमाइलो लाग्ने गरेको उनले बताए ।
यति मात्र होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिले घरबारै तोड्नु परेको छ । श्रीमान् कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ की मनसरा बुढाले श्रीमान्सँगको सम्बन्धै तोडिन् । ‘श्रीमान्ले पटकपटक पार्टी प्रवेशका लागि दबाब दिए,’ उनले भनिन्,
‘विद्यार्थी हुँदैदेखि नेविसंघमा आबद्ध थिएँ । पार्टी छोड्नुभन्दा श्रीमान् छोड्ने निर्णय लिएँ ।’ दैलेख, डुंगेश्वरकी २१ वर्षीया मनसराले सात महिनाअघि अछामीसँग विवाह गरेकी थिइन् । चुनाव लागेयता मेलमिलापका लागि प्रशासन पुग्ने मुद्दामा पनि नेताहरूले बढी नै चासो राख्ने गरेका छन् ।