चितवन, २२ जेठ । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नरनगराउन आइतबार उच्च अदालत पाटनको हेटौडा इजलासले विपक्षीका नाममा अन्तरकालीन आदेश दिएको छ ।
वडा नं ४ मा नेकपा ( एमाले ) का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए। कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए।
ती दुवै मुद्धामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम आइतबार अन्तरकालीन आदेश जारी गरेको हो। आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ। रासस