काठमाडौँ, १९ जेठ । लगानी बोर्डले केरुङ–रसुवा–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा चीन सरकारसँग द्विपक्षीय छलफल गरी अन्तिम टुङ्गो लगाउने भएको छ ।
चीन सरकारले अगाडि सारेको ‘एक पेटी एक मार्ग’ (ओबोर) अवधारणामा सो रेलमार्गसमेत परेकाले नेपालले हालसम्म गरेको अध्ययन तथा आवश्यक कामकारबाहीलाई निष्कर्ष दिने निर्णय भएको बताउँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रक्रियाका सम्बन्धमा आवश्यक तदारुकता दिइने जानकारी दिए ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणको क्रममा भएको सहमति एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा नेतृत्वको प्रतिनिधिमण्डलले ओबोर सम्बन्धमा गरेको हस्ताक्षर एवम् चीन सरकारको चासोका आधारमा पनि सम्भाव्यता अध्ययन तथा निर्माणको प्रक्रिया सुरु गर्ने निर्णय भएको उनको भनाइ छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागले पनि सो आयोजनाका सम्बन्धमा अध्ययन गरिरहेको छ । गोरखापत्रमा खबर छ । यस्तै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा पनि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगका आवश्यक निर्णय लिने निर्णय गरिएको छ ।
लगानी बोर्डको २६ औँ बैठकमा प्रधानमन्त्री दाहालले देशले आर्थिक समृद्धि खोजेको बताएका छन् । प्रधानमन्त्रीले भने, “सहज र राम्रो वातावरणमा निर्णय गरियो ।
यो बैठकका निर्णयले आर्थिक समृद्धि र विकास आयोजनामा थप प्रगति हासिल हुने आशा लिएको छु । प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक सङ्क्रमणको अन्त्य हुन्छ । जनताले खोजेको आर्थिक समृद्धि हो, विकास हो, अब देशको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रित हुनुपर्छ । ” उनले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि विकास र समृद्धिमा सधैँ साथमा रहेको बताए ।