जाजरकोट, १७ जेठ । यहाँका सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।
जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिकामा समेत भवन नहुँदा भाडाको घरमा प्रमुख र उपप्रमुखको कार्यालय स्थापना गरिएको छ । त्रिवेणी नलगाड नपामा केन्द्र कहाँ हुने भन्ने विवाद कायम छ । लहँ, डाडाँगाउँले दल्लीमा केन्द्र बनाउनुपर्ने दाबी गर्दैै आएका छन् भने खगेनकोट, रग्दा र भगवतीले मन्मैमा केन्द्र बनाउनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल राजपत्रमा मन्मैलाई केन्द्र तोकी पठाएको भएपनि जिल्लाका राजनीतिक दलले दल्लीलाई केन्द्र बनाउने निर्णय गरेपछि विवाद भएको हो । उच्च अदालत सुर्खेतले मन्मै केन्द्र नमान्नुको कारण देखाऊ आदेश जारी गरिसकेको छ । रासस