Indrenionline.com

नमुना विद्यालय बनाउन नेपाली सेनाको सहयोग

रोल्पा, १४ जेठ। सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घट्दै गएको भनिए पनि रोल्पाको थवाङमा रहेको एक सामुदायिक विद्यालयमा भने स्थानीयवासीले गरेको विद्यालय सुधारका कारण अभिभावकको आकर्षण बढिरहेको छ ।

थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयलाई नमुना बनाउने भन्दै थालिएको अभियानले सार्थकता पाउन थालेसँगै अभिभावकमा आकर्षण थपिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताउनु भयो । “अहिले निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा आउनेको चाप बढ्दै गएका कारण भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लागेका छौँ” – घर्तीले भन्नुभयो ।

भवन निर्माणका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गरिरहेका छन् । सहयोगकै क्रममा नेपाली सेनाको खडक दल गणको एक सैनिक टोली थवाङमा रहेर निर्माण कार्यमा सहयोग गरिरहेको सैन्य स्रोतले बताएको छ । विद्यार्थीको चापसँगै भवन अपुग भएको भन्दै विद्यालयले नेपाली सेनालाई भवन निर्माणमा सहयोग गर्न अनुरोध गरेअनुसार हाल एक टोली थवाङमा पुगी विद्यालय भवन निर्माणमा सहयोग गरेको हो ।

विद्यालयको आन्तरिक र बाह्य परीक्षामा अधिकांश विद्यार्थी अङ्ग्रेजी विषयमा असफल हुन थालेपछि विद्यालयप्रति अभिभावकको आकर्षण घट्न थालेकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालनी गरिएको विद्यालयले बताएको छ । नर्सरीबाट सुरु गरिएको अङ्ग्रेजी माध्यमको पढाइ कक्षा ९ सम्म पुगेको बताइएको छ । कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालय व्यवस्थापन समितिले पछिल्लोपटक विद्यालयलाई नमुना बनाउने भन्दै थालेको अभियानस्वरुप शैक्षिक र भौतिक उपलब्धि देखिन थालेपछि अभिभावकसमेत सन्तुष्ट देखिन थालेको विद्यालयले बताएको छ ।

विद्यालयमा हाल सरकारी दरबन्दीका रुपमा कक्षा १ देखि १२ सम्म २१ जना शिक्षक र ७५० बढी विद्यार्थी रहेका छन् । रासस