Indrenionline.com

काठमाडौँ महानगरको मेयरमा एमालेका शाक्य विजयी

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । ६४ हजार ९१३ मत प्राप्त गरी उनी मेयरमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरे । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गरिएको हो ।

यसैगरी उपमेयरमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरेका छन् ।

दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो ।