सुरेश श्रेष्ठ
दाङ, ९ जेठ । साउन महिना भित्र राप्ती अञ्चल अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने गरि सहमति जुटेको छ । राप्ती अञ्चल अस्पताल बिकास समिति र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङ बीच आज सोमबार संबाद समूहको पहलमा सहमति भएको हो ।
अस्पताल बिकास समितिको तर्फबाट अध्यक्ष बिष्णुकुमार देबकोटा र रेडक्रसको तर्फबाट रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यबीच सहमति जुटेको हो ।
संबाद समूह क्षेत्रीय सचिबालय तुलसीपुरको आयोजनामा गरिएको तुलसीपुरमा रक्त सञ्चार सेवा सञ्चालन बिषयक संबादमा रक्त सञ्चार सेवा सञ्चालनका लागि आबश्यक पर्ने श्रोत ब्यबस्थापन अस्पतालले गर्ने सहमति भएको सम्बाद समूहका सहजकर्ता सुशील बस्नेतले जानकारी दिए।
उक्त संबाद कार्यक्रममा कालीकादेबी रक्त सञ्चार भवन निमार्ण दाता बामदेब शर्मा उपाध्यायले रक्त सञ्चार सेवा सञ्चालनका लागि निर्माण गरिएको उक्त भवन प्रयोगमा ल्याउनपर्ने आग्रह गरेका थिए । अस्पताल बिकास समिति र रेडक्रस सोसाईटीले उक्त कालीकादेबी भवनलाई रक्त सञ्चार सेवाको रुपमा प्रयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
बिगत लामोसमयदेखि अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने बिषयमा भई रहेको पहल पटक पटक असफल भएको थियो ।
रक्त सञ्चार सेवा सञ्चालनका लागि दाता बामदेब शर्मा उपाध्यायले करोड बढी लगानीमा अस्पतालको हाता भित्र स्वर्गीय श्रीमती कालीकादेबी उपाध्यायको स्मृतीमा ५५ लाखको लागतमा कालीकादेबि रक्त सञ्चार भवन निर्माण गरि अस्पताललाई हस्तान्तरण गरिसकेका छन् ।
संबाद समुहका सदस्य लीला पुनको अध्यक्षतामा भएको संबाद कार्यक्रममा प्रमुख जिल्ला अधिकार मेघनाथ काफ्ले,राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डीयन डाक्टर बिनोद सिह,अस्पताल बिकास समितिका अध्यक्ष बिष्णुकुमार देबकोटा,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका अध्यक्ष नारायण आचार्य,कालीकादेबी रक्त सञ्चार भवन निमार्णका दाता बामदेब शर्मा उपाध्याय,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजाल,तुलसीपुर नगरपालीकाका पूर्ब मेयरद्धय शंकरप्रसाद आचार्य र ढुण्डीराज लामिछाने, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी,तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्षद्धय चिरिञ्जीबि रिजाल र उत्तमकुमार श्रेष्ठ,समाजसेवीद्धय डाक्टर घनश्याम डाङी र गोपीनाथ योगी,अधिबक्ता बिष्णुमणि धिताल,निर्मल नेपाली लगायतले अस्पताल परिसरबाट रक्त सञ्चार सेवा सञ्चालनका लागि आबश्यक पर्ने दिर्घकालीन तथा अल्पकालीन श्रोतको पहिचान गरि दिगो ब्यबस्थापनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
२०६५ साल पुस २१ गतेदेखि सञ्चालनमा आएको राप्ती अञ्चल अस्पताल तुलसीपुर र निजी अस्पतालका बिरामीहरुलाई लाभान्बीत हुने उदेश्यले अस्पताल परिसर भित्र रक्त सञ्चार सेवा सञ्चालन गर्ने तयारी गरिएको थियो । तर अस्पतालले आफ्नो स्वामित्वको जग्गा रेडक्रसलाई श्रोत ब्यबस्थापनका लागि दिने भनि गरिएको सहमतिमा दुबै पक्ष बीच २०६८ सालदेखि बिबाद चुलिएको थियो ।
पटक पटकको प्रयास असफल भएपछि बिगत २ महिना अघि संबाद समूहले उक्त बिबादको ब्यबस्थापनको लागि पहल प्रारम्भ गरेको थियो ।