काठमाडौं, ३१ बैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राखिएका वमहरु कतै विष्फोट भएका छन् भने कतै निष्कृय बनाइएको छ । स्थानीय तहको निर्वाचन चलिरहँदा नुवाकोटको बेल्कोटगढीमा बम बिष्फोट भएको छ। नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नम्बर ४, पञ्चासेको मतदान केन्द्र पञ्चासे मावी नजिकै बम बिष्फोट भएको हो।
त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ ट्वाटीपाखास्थित पिपलबोट चौतारामा प्लाष्टिकको झोलामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनासँग समन्वय गरी निष्क्रिय पारेको छ। आईबार विहान उक्त बम निष्क्रिय पारिएको हो ।
यसैगरी भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ स्थित मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि खतरा लेखिएको पोकाभित्र फेला परेका सकेट बम पनि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल सहितको टोलीले निष्क्रिय बनाएको छ।
काभ्रेको पाँचखाल नगरपालिका–४ समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने तार सहितको बस्तुलाई नेपाली सेनासँग समन्वय गरी प्रहरीले शान्ति मिसन तालिम केन्द्र पाँचखालमा राखेर निष्क्रिय पारेको छ।
दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बिन्द्रासैनीमा खतरा लेखेको बोतल बमलाई पनि नेपाली सेनासँग समन्वय गरी प्रहरीले निष्क्रिय पारको छ।