रत्ननगर, २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।
यसअघि अहिले उक्त सडक बिहान १० देखि ४ बजेसम्म ६ घन्टा बन्द गरेर निर्माण कार्य गरिँदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ ।
अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको खनालले जानकारी दिनुभयो । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उहाँको भनाइ छ । उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा छ वटा निर्माण कम्पनीले अहिले काम भइरहेको छ ।
उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउनुहुन्छ । वर्षाका बेलामा भने यात्रुले सास्ती पाउँदै आएका छन् ।
अघिल्लो महिनामा यहाँ सुक्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको उहाँको भनाइ छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । रासस