पाण्डव शर्मा
घोराही । दाङमा उद्योग क्षेत्रमा लगानी बढेको छ । जिल्लामा ठूला लगानीका उद्योगसँगै साना लगानीका उद्योग खुल्ने क्रम पनि बढेको छ । पछिल्लो साढे ३ वर्षको अबधिमा मात्रै दाङमा साना उद्योगमा २ अर्ब ९३ करोड १८ लाख रुपैयाँ लगानी भइसकेको छ । उद्योगसँगै लगानीसमेत ह्वात्तै बढेको छ ।
३ करोड रुपैयाँभन्दा बढी लगानीका उद्योग विभागमै दर्ता हुने भएकाले सोको तथ्याङ्क कार्यालयसँग नभएको शर्माले जानकारी दिए । दाङमा पछिल्लो दशक ठूला लगानीका उद्योग खुल्ने क्रमसमेत बढेको छ । हालसम्म आधा दर्जन सिमेण्ट उद्योग स्थापना भइसकेका छन् । त्यसैगरी करीब ८ करोड रुपैयाँ लगानीमा बिस्कुट र त्यत्तिकै लगानीमा धाराको टुटी उत्पादन गर्ने उद्योगसमेत स्थापना भएको छ ।
यही गतिमा उद्योग स्थापना भएमा अबको ५ वर्षभित्र दाङ पश्चिम नेपालकै औद्योगिक केन्द्र बन्ने दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीले बताए । दाङमा प्रशस्त समथर जग्गा, उद्योगमैत्री वातावारण र प्रशस्त कच्चा पदार्थ पाइने भएकाले लगानीकर्ताको आकर्षण बढेको उनले बताए । उद्योग स्थापना भए पनि सरकारले व्यवस्थापनमा चासो दिन नसकेको बुढाथोकीको भनाइ छ । ‘हामीले औद्योगिक क्षेत्र स्थापनका लागि पहल गरिरहेका छौं, तर सरकारले उचित सुनुवाइ गरेको छैन,’ उनले भने, ‘औद्योगिक क्षेत्र नहुँदा जथाभावी उर्वरभूमिमा उद्योग खुलिरहेका छन्, यसले कृषि उत्पादनमा निकै असर गरेको छ ।’ सरकारले तत्काल जग्गाको उचित वर्गीकरण गरेर उद्योगको उचित व्यवस्थापन गर्नुपर्ने बुढाथोकीले बताए ।