भोजपुर । भोजपुर जिल्लाको मनोरम पर्यटकीयस्थल मैयुँ हाँसपोखरीमा ‘प्रथम मैयु हाँसपोखरी महोत्सव–२०७४’ सम्पन्न भएको छ । मैयुँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एक महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित गराउने उद्देश्यले तिम्मा सरोकार समाजद्वारा वैशाख १ देखि तीन दिनसम्म आयोजित महोत्सवको उद्घाटन भोजपुरे सेवा समाज, काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पाले गरेका थिए । उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि शेर्पाले मैयुँ भोजपुरको मात्रै नभएर संसारकै एक मनोरम स्थल भएको दाबी गरे ।
समाजका सचिव एवम् गायक श्याम सामसोनले सञ्चालन गरेको उक्त महोत्सवमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नेपाली सेना, नेपाल प्रहरीका जिल्ला प्रमुखका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि मन्तव्य व्यक्त गर्दै मैयुँ हाँसपोखरीलाई सरकारले पर्यटकीय क्षेत्रका रुपमा शीघ्र घोषणा गरी प्रचार–प्रसारमा जोड दिनु पर्ने धारणा राखेका थिए । महोत्सवमा भीषण मुकारुङ, तुलसी पराजुली, श्याम सामसोङ लगायतका कलाकारहरूले साङ्गीतिक सौगात पस्केका थिए ।