दाङ, २३ बैशाख । जनसाँस्कृतिक महासंघ नेपाल दाङको अध्यक्षमा टीका बुढा ‘रञ्जित’ चयन हुनुभएको छ । महासंघको शनिबार घोराहीमा सम्पन्न जिल्ला भेलाले बुढाको नेतृत्वमा एक जना पछि थप्ने गरी ११ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
टीका बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय उपाध्यक्ष किशोर विकले विगतका विद्रोह र ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुको संस्थागत गर्ने समय आएको भन्दै जनपक्षीय कवि, कलाकार र संस्कृतिकर्मीहरुको जिम्मेवारी बढेको बताउनुभयो । स्थानीय तहको निर्वाचन मुखमै आइसकेको भन्दै उहाँले परिवर्तनका एजेण्डा स्थापित गर्ने माओवादी केन्द्रलाई जिताउन कवि, कलाकार र लेखकहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र)का पोलिट व्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले परिवर्तनको महत्वपूर्ण पक्ष साँस्कृतिक क्षेत्र भएको बताउँदै समाज परिवर्तनको महत्वपूर्ण जिम्मेवारी संस्कृतिकर्मीहरुको काँधमा रहेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल लेखक संघका केन्द्रीय सचिव प्रमोद धिताल, जनसाँस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष प्रगति महरा, नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरका अध्यक्ष विश्वराज आचार्य, प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष डिल्ली मल्ललगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । श्रीधर भावुकले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरुलाई हिरालाल सुनारले स्वागत गर्नुभएको थियो ।
यसैबीच महासंघको पहिलो बैठकले यही जेठ १३ गते साहित्यकार तथा पत्रकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाउने निर्णय गरेको अध्यक्ष टीका बुढा ‘रञ्जित’ले बताउनुभयो । त्यस्तै, उक्त दिवसमा महासंघमा स्थापित कृष्ण सेन इच्छुक स्मृति साहित्य पुरस्कारको प्रतिभा छनौटका लागि अध्यक्ष टीका बुढाको संयोजकत्वमा प्रमोद धिताल र प्रकाश पन्थी सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरिएको बुढाले जानकारी दिनुभयो । त्यस्तै, बैठकले अग्रज साहित्यकारहरु रामप्रसाद जैशी, टीकाराम उदासी र प्रकाश पन्थीलाई सल्लाहकारमा मनोनयन गरेको पनि बुढाले बताउनुभयो ।
बैठकले जनकलाकार संघको संयोजनको जिम्मेवारी सचिव हिरालाल सुनार र लेखक संघको संयोजनको जिम्मेवारी उपाध्यक्ष श्रीधर भावुकलाई दिएको पनि अध्यक्ष बुढाले जानकारी दिनुभयो ।