काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गर्नुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय, विकास र समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपाल सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरु होमिएको पेथोलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीले निर्वाचनले जनतामा ठूलो उत्साह पैदा गरेको र एकैचोटी हजारौं जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा राजनीतिक स्थिरता र विकासले गति लिने बताउनु भयो ।
भेटका अवसरमा राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हंगेरियाको सधैं सहयोग र सद्भाव रहने बताउनु भयो ।