काठमाडौँ, १९ वैशाख । उर्वरा फाउन्डेसन, नेपालसँगको सहकार्यमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुर, चितवनले राजधानीको बागबजारस्थित सिटीम्याक्स सिनेमाहलमा आयोजना गरेको ‘काव्यमेला’मा युवा पुस्ताका पाँच कविले आफ्ना पाँच–पाँच कविता सुनाए । मेलामा युवाकविहरू सुदीप कोइराला ‘सुको साइबर’, लक्ष्मी रुम्बा, मुकुन्द खलपात्र, सुशील कुवँर र अञ्जना राई प्रस्तुत भएका हुन् ।
कतारमा कार्यरत कुवँरले ‘आज मजदुर दिवस, हामी पनि एक मजदुर नै हौँ’ भन्दै विदेसिनुको पीडा समेटिएको ‘मजदुर म’ शीर्षकको कविताबाट कार्यक्रमको आरम्भ गरे । उनले ‘बहिनीको चिठ्ठी’, ‘अतिरिक्त हाँसो’, ‘निष्कर्ष’ र ‘ठेकेदार’ सुनाएर माहौल तताए । दोस्रो चरणमा प्रस्तुत भएकी राईले ‘आमाको आँखामा छोरीको आधा अनुहार’, ‘दुध्कोसीको किनार’, ‘फोक्सोको आयु’, देउताहरूको कुरा’, र ‘तीज’ सुनाइन् ।

भरतपुरमा थिएटर निर्माणको अभियानसहित मासिक रूपमा सञ्चालन हुँदै आएको ‘काव्यमेला’को यो छैटौँ शृङ्खला हो । यसअघि मेलामा कवि तथा प्राज्ञहरू श्रवण मुकारुङ, अमर गिरी, शशी लुमुम्बूका साथै मुकुन्द खलपात्र, शीतल लामा र अञ्जन ढुङ्गाना प्रस्तुत भइसकेका छन् ।