बैशाख १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताउनु भएको छ ।
भेटमा प्रधानमन्त्रीले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ । नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’
मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताउनु भयो । भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गर्नुभयो । भेटमा नेपाल मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।