बैशाख १२, काठमाडौं । प्रमूख पाँच राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले राजनीतिक सम्वादलाई जारी राख्ने, दुईपक्षीय र बहुपक्षीय छलफललाई निरन्तरता दिँदै संविधान संशोधन, सदन सञ्चालन, दोस्रो चरणको निर्वाचन र बजेटबारे सहमतिमा पुग्ने र राजनीतिक दलहरु मिलेरै अगाडि बढ्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार लगायत पाँच दलका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।