दाङ, ९ बैशाख । नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिकाले उम्मेदवार घोषणा तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । घोराहीमा आयोजित कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले पार्टी केन्द्रले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
वर्षौंदेखि कांग्रेस एमाले सत्तामा बसेर पनि जिल्लाको विकासमा कुनै काम गर्न नसकेको दावी गर्दै नेता शर्माले माओवादी शान्तिप्रक्रियामा आएयताका १० वर्षभित्र दाङमा उल्लेख्य विकास भएको बताउनुभयो । जिल्लाको विकासका लागि कसले कति काम ग¥यो, त्यसको उचित हिसाब गरेर विकास गर्नेहरुलाई जिताउन पनि उहाँले मतदाताहरुलाई अपील गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा घोराही उपमहानगरपालिकाका चुनाव परिचालन समितिका संयोजक हेमराज शर्मा ‘डायमण्ड’को अध्यक्षमा भएको कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य भीमकुमारी बाँठा ‘निसाना’, महाधिवेशन आयोजक समिति सदस्य खिमबहादुर चौधरी ‘अटल’लगायतले बोल्नुभएको थियो ।
घोराही उपमहानगरका अध्यक्ष विश्वराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा उपमहानगरका उपाध्यक्ष प्रमोद शर्माले स्वागत गर्नुभएको थियो भने बीच–बीचमा रक्तबीज साँस्कृतिक परिवारले सांगीतिक प्रस्तुतिहरु देखाएको थियो ।
यसैबीच घोराहीमा भएको कार्यक्रममा कांग्रेसका पुराना नेता प्रमोद देवकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य प्रेमबहादुर थापासहित ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि रेखा शर्मा, उपमहानगरका उम्मेदवार जीवन गौतमलगायतले टीका लगाएर स्वागत गर्नुभएको थियो ।
उम्मेदवारहरु घोषणा
यसैबीच घोषणा सभामा नेकपा –माओवादी केन्द्र)ले तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिका बाहेक अरु सबै ठाउँका उम्मेदवारहरु सार्वजनिक गरेको छ । जसअनुसार घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार पार्टीका जिल्ला इन्चार्ज जीवन गौतम, लमही नगरपालिकाको मेयरमा द्रोपदा पौडेल र उपमेयरमा कालुराम चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता अधिकारी, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार रहनुभएको छ ।
त्यस्तै, बबई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, बंगलाचुली गाउँपालिका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती, गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपाने, दंगीशरण गाउँपालिका अध्यक्षमा हिरालाल चौधरी रहेको माओवादी केन्द्र दाङका सहइन्चार्ज हेमराज शर्मा डायमण्डले जानकारी दिनुभयो । टुङ्गो लाग्न बाँकी ठाउँमा पनि एक–दुई दिनभित्रै निर्णय गरिने उहाँले बताउनुभयो ।
बंगलाचुलीमा भक्त वली
नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले प्रतिबद्धता पत्र तथा उम्मेद्वारी घोषणा सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्षका उम्मेदवार भक्तबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवम् व्यवस्थापिका संसद सदस्य रेखा शर्माले प्रतिबद्धता पत्र एवं उम्मेदवारहरुको घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेता शर्माले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो उपलब्धिलाई जोगाइराख्न माओवादीले जित्नुपर्नेमा जोड दिनुभयो । माओवादी आन्दोलनले सिंहदरबारको शासन सत्ता जनताकै घर आँगनमा पु¥याएको र अब यसलाई संस्थागत गर्नु अहिलेको पहिलो प्राथमिकता रहेको उहाँको भनाई थियो ।
सो अवसरमा नेपाली काङ्ग्रेस, एमाले र राप्रपा परित्याग गरि १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसमा एमालेका पारस खत्री, मुक्तिराम गाहा, मानबहादुर गाहा, जगत नेपाली, प्रेम नेपाली, काङ्ग्रेसबाट कमल वली, हस्ती वली, डेमलाल विक, शक्ति लम्साललगायत रहेका छन् ।
यसैबीच दंगीशरण गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले प्रतिबद्धता पत्र तथा उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षमा हिरालाल चौधरी ‘बज्र’को उम्मेदवारी घोषणा गरिएको छ ।
त्यस्तै, बबई गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य निर्मल आचार्यले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला वलीलाई उम्मेदवार घोषणा गरिएको हो ।
त्यसैगरी शान्तिनगर गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा –माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य कुबेर ओलीले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियारलाई उम्मेदवार घोषणा गरिएको हो ।
त्यसैगरी लमही नगरपालिकामा आयोजित कार्यक्रममा नेकपा –माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य इन्द्रजीत थारुले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपाध्यक्षमा कालुराम चौधरीलाई उम्मेदवार घोषणा गरिएको हो ।
त्यसैगरी राजपुर गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य लीला शर्माले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिकामा रहेका सबै वडाका अध्यक्षहरुको उम्मेदवारी घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी भने गरिएको छैन ।