बैशाख ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ ।
फाइल तस्वीर
विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएर उद्दार र राहतको काम गरिरहेको सरकारले शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिटै उद्दार गर्न विशेष निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्दारका लागि पहल गरेको थियो । सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि बैशाख ८ गते उनीहरुको उद्दार गरी नेपाल ल्याइएको हो । १८ नेपालीको उद्दारका लागि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेको थियो ।