बैशाख ८, काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघसम्वद्ध विभिन्न विकास संगठनका कार्यकारी प्रमूखहरुले संयुक्त रुपमा भेट गरेका छन् ।
भेटमा प्रधानमन्त्रीले नेपाल संविधान कार्यान्वयनका लागि बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र नवनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार प्रयत्नशील रहेको जानकारी दिँदै त्यसका लागि संयुक्त राष्ट्र संघको सहयोग र सद्भाव आवश्यक रहेको बताउनु भयो । नेपालको शान्ति प्रक्रिया र विकास आयोजनाहरुमा संयुक्त राष्ट्र संघको महत्वपूर्ण सहयोग रहेको भन्दै त्यसका लागि प्रधानमन्त्रीले कार्यकारी प्रमूखहरुलाई धन्यवाद दिनुभयो ।
भेटमा संयुक्त राष्ट्र संघअन्तर्गत युनिसेफका कार्यकारी प्रमूख वाल्टन अल्फन्सो वेब्सन, पानामाका स्थायी प्रतिनिधि लाओरा एलिना हेरेरा, युएईका स्थायी प्रतिनिधि लाना नुस्सेबेह, मोक्सिकोका युएनका राजदूत मार्था बार्सेना, जापानका लागि युएनका राजदूत हिरोशी मिनामी, एरेटियाका स्थायी प्रतिनिधि अमानुएल जिओर्जियो, युनिसेफका बोर्ड सेक्रेटरी निकोलास प्रोन र नेपालका लागि राष्ट्र संघका स्थायी प्रतिनिधि भ्यालरी जुलियन उपस्थित हुनुहुन्थ्यो ।