काठमाडौं, ६ बैशाख । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतन्त्र सुदृढीकरण र स्थायित्वका लागि भारतको सद्भाव महत्वपूर्ण रहेको बताउनुभएको छ । पाँचदिने राजकीय यात्राका क्रममा मंगलबार राष्ट्रपति भण्डारीले समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको बेग्ला बेग्लै भेटवार्तामा नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको थियो ।
भारतीय राष्ट्रपति भवनको फोरकोर्टमा राष्ट्रपति भण्डारीको सम्मानमा भारतीय सेनाले सेरेमोनियल गार्ड अफ अनर दिएको थियो । त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुनुहुन्थ्यो । अन्नपूर्ण पोष्टमा खबर छ । राष्ट्रपति मुखर्जीले विभिन्न भूमिकामा रही नेपाल(भारतबीचको सम्बन्ध विस्तारमा पुर्याउनुभएको योगदानका लागि भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो ।भण्डारीले नेपाल सरकारले स्थानीय चुनाव घोषणा गरिसकेको बताउँदै सबै राजनीतिक दलले त्यसमा भाग लिनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।
प्रत्युत्तरमा भारतीय उच्च नेतृत्वले नेपालको लोकतन्त्रको सुदृढीकरण, शान्ति, स्थिरता, विकासमा सहयोग गर्न तयार रहेको जनाउँदै सबै राजनीतिक पक्षको सहभागितामा संविधान कार्यान्वयनसँग जोडिएका मुद्दा हल हुने तथा निर्वाचन हुने अपेक्षा व्यक्त गरेको छ ।भण्डारी र मोदीबीच नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ र मजबुत बनाउने विषयमा कुराकानी भएको हो ।