काठमाडौँ, ४ वैशाख । वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा ‘युवा अग्रसरता संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ वैशाख १ देखि ७ गतेसम्म बाइसौँ वन्यजन्तु सप्ताह मनाइदैछ । जसअन्तर्गत आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला तथा सोमबार कविता प्रतियोगिताको आयोजना गरियो ।
वन्यजन्तु संरक्षणका लागि युवालाई ज्ञान प्रदान होस् भन्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए । सो अवसरमा विद्यार्थीले वन र वन्यजन्तु संरक्षणसम्बन्धी चित्र बनाएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने तीन जनालाई पुरस्कृत गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी गराइन् ।
कार्यक्रममा बोल्दै प्रमुख निर्णायक प्राज्ञ रमेश श्रेष्ठले अन्य अनेकौँ माध्यमभन्दा एउटा कविताले प्रकृति, वातावरण तथा वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।