काठमाडौँ, ४ वैशाख । सरकारले घोषणा गरेको निःशुल्क मृगौला प्रत्यारोपण कार्यक्रम आइतबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट सुरु भएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले आइतबार मात्रै केन्द्रमा दुई जनाको मिर्गौला निःशुल्क प्रत्यारोपण भएको जानकारी दिए ।
कार्यकारी निर्देशक डा. श्रेष्ठले निःशुल्क मिर्गौला प्रत्यारोपणको लागि पाँच लाख रुपियाँ र अन्य औषधिसमेत बचत हुने जानकारी दिए। मन्त्रालयले पठाएको बजेटबाट खर्च हुने गरी मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिँदै उनले प्रक्रिया मिलाएर आएका बिरामीको लागि अब केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने स्पष्ट पारे । चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न सरकारले एक करोड ५० लाख रुपियाँ छुट्याएको छ ।
गुरुङले दुई वर्षअघि भारतमा प्रत्यारोपण गर्नु भएकोमा मिर्गौला फेल भएको थियो भने ढकालले दुई वर्षदेखि मिर्गौला डायलासिस गराउँदै आउनुभएको थियो । स्वास्थ्य मन्त्री गगनकुमार थापाले मानव अङ्ग प्रत्यारोपण केन्द्रसहित वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जबाट पनि निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी दिए ।
उनले अब मिर्गौला प्रत्यारोपणका लागि कुनै खर्च पनि नलाग्ने जानकारी दिँदै मिर्गौला रोगीहरूका लागि निःशुल्क प्रत्यारोपण ठूलो सफलता भएको बताए । गोरखापत्रमा खबर छ । डा. श्रेष्ठका अनुसार प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले व्यवस्था गर्नेछ । नेपालमा मिर्गौला प्रत्यारोपण नहुँदा केही वर्षअघिसम्म नेपालीहरू भारत, थाइल्यान्ड, सिङ्गापुर, जापानजस्ता देशमा गएर लाखौँ खर्चेर मिर्गौला प्रत्यारोपण गर्ने गर्दथे ।
कसरी हुन्छ निःशुल्क मिर्गौला प्रत्यारोपण ?
बिरामीको स्थायी वतन रहेको गाविस (गाँउपालिका) बाट आर्थिक स्थिति कमजोर रहेको भन्ने सिफारिससाथै जिल्लाबाट पनि सिफारिस ल्याएर निवेदनसहित मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्ने हुन्छ ।
त्यसपछि उक्त समितिको बैठक बसी त्यसले अन्तिम निर्णय गरेको खण्डमा मात्र निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न पाइने व्यवस्था छ । समितिले जिल्लाको सिफारिस ल्याएको खण्डमा निःशुल्कका लागि सिफारिस गर्ने व्यवस्था छ । त्यसपछि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
२०७३ मा ११६ जनाको प्रत्यारोपण
सरकारले मानव जातिका सम्पूर्ण अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले चार वर्षअघि भक्तपुरमा सञ्चालनमा ल्याएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा २०७३ सालमा मात्रै ११६ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । स्थापनाको छोटो समयमा नै केन्द्रले वार्षिक एक सय जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरेर ठूलो सफलता हासिल गरेको बताउँदै उनले आउँदो वर्ष १५० जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको जानकारी दिए ।