काठमाडौ, ३१ चैत । नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्तामा आउन आह्वान गरेको छ । सरकारले चैत २९ गते ल्याएको ११ बुँदे संशोधन विधेयकमाथि मधेशी मोर्चाले असन्तुष्टि जनाएपछि सरकारको समेत नेतृत्व गरेको माओवादी केन्द्रले यस्तो आह्वान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि आन्दोलनमार्फत नभएर वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले संशोधन विधेयक परिमार्जनमार्फत समाधान गर्न सकिने भन्दै मधेशी मोर्चालाई वार्तामा आउनका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार साँझ बसेको पार्टी हेडक्वाटरको बैठकमार्फत उनले सो आग्रह गरेको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी गराइन् । मंसिर १४ गते सरकारले ल्याएको चार बुँदे सविधान संशोधन विधेयकलाई पनि मधेशी मोर्चाले विरोध गरेका थिए । विरोध भएपछि मधेशी मोर्चासँग सैद्धान्तिक सहमति गरेर नै यो नयाँ विधेयक ल्याएको हो । तर मधेशी मोर्चाले त्यसलाई अस्वीकार गरेको छ ।
स्थानीय चुनाव गराउन सरकार प्रतिवद्ध रहेको र त्यसमा सम्पूर्ण पार्टीपंक्ति उत्साहका साथ लागेको पनि पार्टीले निष्कर्ष निकालेको बताइएको छ । दलहरु पनि चुनावको तयारी जुटिसकेको अवस्थामा मधेशी मोर्चालाई पनि चुनावमा सहभागी हुन आफ्नो पार्टीले आग्रह गरेको प्रवक्ता भुसालले जानकारी दिइन् । रातोपाटीबाट
